काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य गिरावट आएको छ भने बीमाशुल्क आर्जनमा भने वृद्धि भएको छ।
समीक्षा अवधिमा कम्पनीले ६ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ११ करोड ५० लाख रुपैयाँले घटेको हो।
कम्पनीले समीक्षा अवधिमा ३ अर्ब १ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन २ अर्ब ८५ करोड ९९ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कुल बीमाशुल्क आर्जन ५.४० प्रतिशतले बढेको हो।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन ७.९० प्रतिशतले बढेर १ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब २३ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
तर, पुनर्बीमातर्फको खर्च भने बढेको छ। समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ६७ करोड ६८ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो खर्च १ अर्ब ६२ करोड ३ लाख रुपैयाँ रहेको थियो।
२ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडा १ अर्ब ७ करोड १४ लाख रुपैयाँ रहेको छ। त्यस्तै, महाविपत्ती कोषमा ४ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १४ करोड ३९ लाख रुपैयाँ र अन्य इक्विटीमा ५४ करोड ११ लाख रुपैयाँ रहेको छ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीको विशेष जगेडा १ अर्ब ३ करोड ९८ लाख रुपैयाँ, महाविपत्ती कोष ४ करोड ६५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ११ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटी ५६ करोड २४ लाख रुपैयाँ रहेको थियो।
वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ७३ पैसा र प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ १ पैसा रहेको छ।