free website hit counter

भदौमा पनि घट्यो बैंकको निक्षेप ब्याजदर

beemaadmin
२०८३ श्रावण ३१, आईतवार

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहँदा साउनको तुलनामा भदौमा पनि निक्षेपको औसत ब्याजदर घटेको छ।

भदौमा व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४.१६७५ प्रतिशतबाट ०.०३१५ प्रतिशतविन्दुले घटेर ४.१३६ प्रतिशत कायम भएको छ। यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर पनि साउनको ३.११६ प्रतिशतबाट घटेर ३.०८१ प्रतिशतमा झरेको छ।

५ बैंकले घटाए ब्याजदर

भदौका लागि ५ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्।

सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपतर्फ ०.२९ प्रतिशतविन्दु र संस्थागततर्फ ०.२ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ३.७६ प्रतिशत र संस्थागतको ३.०५ प्रतिशत कायम गरेको छ।

नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशतविन्दु र संस्थागततर्फ ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाउँदै क्रमशः ४.१५ प्रतिशत र ३.५ प्रतिशत कायम गरेको छ।

त्यस्तै, सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ३.८५ प्रतिशत, कुमारी बैंकले ३.७६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत कायम हुने गरी ब्याजदर घटाएका छन्।

१५ बैंकको ब्याजदर स्थिर

भदौमा १५ वटा वाणिज्य बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गर्दै सबैभन्दा माथि रहेका छन्।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकसहित १५ बैंकले साउन महिनाकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्।

बैंकिङ प्रणालीमा तरलता उच्च रहनु र कर्जाको मागमा अपेक्षित सुधार नआउनुका कारण बैंकहरूमा रकम थुप्रिने क्रम जारी छ। यस्तो अवस्थामा निक्षेपको लागत घटाउन बैंकहरूले ब्याजदर घटाउने वा स्थिर राख्ने रणनीति अपनाएका हुन्।

सम्बन्धित समाचार