free website hit counter

निर्जीवन बीमा कम्पनीको खुद बीमाशुल्क ८.७७ प्रतिशतले बढ्यो

beemaadmin
२०८३ भाद्र १, सोमबार

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ६३ करोड ७६ लाख रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १९ अर्ब ६३ करोड ७६ लाख ५० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन भएको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले १८ अर्ब ५ करोड ४७ लाख ३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका थिए। यस आधारमा समीक्षा अवधिमा कम्पनीहरूको खुद बीमाशुल्क संकलन अघिल्लो वर्षको तुलनामा ८.७७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। कम्पनीले २ अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको कम्पनीको खुद बीमाशुल्क १०.७२ प्रतिशतले बढेको हो।

त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्स २ अर्ब २१ करोड रुपैयाँ खुद बीमाशुल्कसहित दोस्रो स्थानमा रहेको छ। कम्पनीको खुद बीमाशुल्क अघिल्लो वर्षको तुलनामा ९.७४ प्रतिशतले बढेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स २ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्दै तेस्रो स्थानमा रहेको छ। कम्पनीको खुद बीमाशुल्क अघिल्लो वर्षको तुलनामा २.९२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले १ अर्ब ९५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको खुद बीमाशुल्क १०.६४ प्रतिशतले बढेको छ। नेको इन्स्योरेन्सले १ अर्ब ९४ करोड रुपैयाँ आर्जन गरेको छ भने यसको वृद्धि २.१० प्रतिशत रहेको छ।

त्यस्तै, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको खुद बीमाशुल्क अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले बढेको छ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको खुद बीमाशुल्क ६.६८ प्रतिशतले बढेको छ। युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ भने यसको वृद्धि ७.९० प्रतिशत रहेको छ।

त्यसैगरी, एनएलजी इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क १७.९९ प्रतिशतले बढेको छ। नेपाल इन्स्योरेन्सले १ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी हो।

सानिमा जिआइसी इन्स्योरेन्सले समीक्षा अवधिमा ८३ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको खुद बीमाशुल्क ९ प्रतिशतले बढेको छ। त्यस्तै, प्रभु इन्स्योरेन्सले ६९ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ। कम्पनीको खुद बीमाशुल्क अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा अधिकांश निर्जीवन बीमा कम्पनीको खुद बीमाशुल्क बढे पनि दुई कम्पनीको भने घटेको छ।

नेसनल इन्स्योरेन्सले ५६ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क १२ प्रतिशतले घटेको हो।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले २३ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ६ प्रतिशतले घटेको छ।

समग्रमा निर्जीवन बीमा कम्पनीहरूको खुद बीमाशुल्कमा भएको वृद्धि बीमा व्यवसायको विस्तारसँगै कम्पनीहरूको व्यवसायिक गतिविधि बढ्दै गएको संकेतका रूपमा देखिएको छ।

सम्बन्धित समाचार