free website hit counter

उपसभामुख ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध जाहेरी

beemaadmin
२०८३ भाद्र २, मंगलवार

काठमाडौं । प्रतिनिधि सभा उपसभामुख रूबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्।

ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा श्रेष्ठविरुद्ध जाहेरी दिएको परिसरका प्रमुख एवं एसएसपी तुलबहादुर कार्कीले पुष्टि गरेका छन्।

‘जाहेरी आएको छ। त्यसमा समावेश सबै विवरण हेरिसकेका छैनौँ। प्रक्रिया अघि बढिरहेको छ,’ एसएसपी कार्कीले भने। यद्यपि जाहेरीमा कुन कसुर लगाइएको हो भन्ने विषय उनले खुलाएनन्।

जनआस्था साप्ताहिकमा आफ्नो मानहानि हुने गरी समाचार प्रकाशित गरिएको भन्दै उपसभामुख ठाकुरले यसअघि सार्वजनिक रूपमा आपत्ति जनाएकी थिइन्। उनले उक्त विषयमा प्रेस काउन्सिल नेपालमा समेत उजुरी दिएकी थिइन्।

यसअघि सोमबार नै सर्वोच्च अदालतको आदेशपछि पत्रकार श्रेष्ठ हाजिर जमानीमा रिहा भएका थिए। वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ परेका श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उनलाई हाजिर जमानीमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।

यससँगै श्रेष्ठविरुद्ध उपसभामुख ठाकुरले छुट्टै जाहेरी दिएपछि घटनाले थप कानुनी रूप लिएको छ।

सम्बन्धित समाचार