काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ। कम्पनीले भदौ १ गते आफ्नो नवौँ वार्षिकोत्सव मनाएको हो।
वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै देशभरका शाखामार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रममार्फत विभिन्न समुदायलाई प्रत्यक्ष सहयोग पुर्याउनुका साथै जीवन बीमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको बताए। उनका अनुसार रक्तदानले अस्पतालमा हुने रगतको अभाव न्यूनीकरण, वृक्षारोपणले वातावरण संरक्षण तथा खाद्यान्न वितरणले विपन्न परिवारलाई राहत पुर्याउने अपेक्षा गरिएको छ।
वार्षिकोत्सवकै अवसरमा आइएमई लाइफले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य सम्झौता (एमओयू) गरेको छ। सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान तथा उत्पादन गरेको ‘न्यानो नानी’ बेबी वार्मर आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले सम्झौताले दुवै संस्थाबीच दीर्घकालीन सहकार्यको आधार तयार गर्नुका साथै नवजात शिशुको स्वास्थ्य क्षेत्रमा प्रविधिमार्फत सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धतालाई थप संस्थागत गरेको बताए।
‘न्यानो नानी’ समयअघि जन्मिएका वा कम तौल भएका नवजात शिशुलाई आवश्यक तापक्रम प्रदान गर्न प्रयोग हुने चिकित्सकीय उपकरण हो। विशेषगरी दुर्गम तथा स्वास्थ्य सुविधा सीमित भएका क्षेत्रमा यस्ता उपकरण उपयोगी हुने कम्पनीले जनाएको छ।
सहकार्यको पहिलो चरणमा आइएमई लाइफले कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ बेबी वार्मर उपलब्ध गराउने भएको छ।
भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सेवामा न्यून पहुँच भएका क्षेत्रका नवजात शिशुलाई लक्षित गरी कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ। सम्बन्धित स्वास्थ्य संस्थामा उपकरण जडान गरिने र यसले नवजात शिशुको स्वास्थ्य सेवा सुधार तथा मृत्यु जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सीईओ खड्काका अनुसार कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत कार्यक्रम सञ्चालन गरेको हो। आगामी दिनमा ‘न्यानो नानी’ कार्यक्रमलाई देशका अन्य प्रदेश तथा जिल्लामा समेत विस्तार गर्ने कम्पनीको योजना छ।
नौ वर्षको यात्रामा ग्राहकको वित्तीय सुरक्षा, बीमा पहुँच विस्तार, छिटोछरितो दाबी भुक्तानी तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको आइएमई लाइफले जनाएको छ। कम्पनीले देशभरको शाखा सञ्जाल र दक्ष जनशक्तिमार्फत सर्वसाधारणसम्म जीवन बीमा सेवा पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ।