free website hit counter

दाबी भुक्तानीमा ढिलाइ : बीमा व्यवसायमाथि नै प्रश्न

beemaadmin
२०८३ भाद्र ३, बुधबार

काठमाडौँ । बीमा व्यवसायको सबैभन्दा महत्वपूर्ण आधार नै जोखिम पर्दा ग्राहकलाई समयमै क्षतिपूर्ति उपलब्ध गराउनु हो। तर निर्जीवन बीमा कम्पनीहरूमा एक लाखभन्दा बढी दाबी फर्छ्योट हुन बाँकी रहनुले बीमा व्यवसायको मूल उद्देश्य र कम्पनीहरूको दाबी व्यवस्थापन क्षमतामाथि नै गम्भीर प्रश्न उठाएको छ।

आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीमा १ लाख ४ हजार ७४८ वटा दाबी फर्छ्योट हुन बाँकी छन्। अघिल्लो वर्ष ९७ हजार ५३८ वटा रहेको यस्तो संख्या एक वर्षमै ७.३९ प्रतिशतले बढेको हो।

बीमा गर्ने ग्राहकले दुर्घटना, प्राकृतिक विपत्ति वा अन्य जोखिमबाट क्षति व्यहोरेपछि कम्पनीबाट क्षतिपूर्तिको अपेक्षा गर्छ। तर दाबी स्वीकृत हुन वा भुक्तानी पाउन लामो समय लाग्ने अवस्था सिर्जना भएमा ‘बीमा गरेर पनि आवश्यक समयमा पैसा नपाइने’ भन्ने धारणा बलियो बन्न सक्छ।

यसले एउटा कम्पनीको मात्र होइन, समग्र बीमा व्यवसायको विश्वसनीयतामाथि प्रश्न उठाउने जोखिम हुन्छ।

दाबी बढ्नु मात्रै समस्या होइन, भुक्तानीको गति मुख्य प्रश्न

प्राकृतिक विपत्ति, आगलागी, बाढीपहिरो, दुर्घटना तथा अन्य जोखिमका कारण दाबी बढ्नु अस्वाभाविक होइन। तर दाबीको संख्या बढ्दै जाँदा त्यसलाई समयमै व्यवस्थापन गर्न नसक्नु भने कम्पनीका लागि गम्भीर चुनौती हो।

विशेषगरी शिखर इन्स्योरेन्समा १४ हजार ९९३, सगरमाथा लुम्बिनीमा ११ हजार ६४८ र सिद्धार्थ प्रिमियरमा ११ हजार २५९ वटा दाबी फर्छ्योट हुन बाँकी छन्। त्यस्तै नेको, हिमालयन एभरेस्ट, युनाइटेड अजोड, आइजीआई प्रुडेन्सियललगायत कम्पनीमा पनि हजारौँ दाबी बाँकी छन्।

नेपाल इन्स्योरेन्समा बाँकी दाबी अघिल्लो वर्षको तुलनामा ३१.३९ प्रतिशतले बढेर ५ हजार ८९८ पुगेको छ।

यस्तो तथ्यांकले कम्पनीहरूको दाबी व्यवस्थापन प्रणाली कति प्रभावकारी छ भन्ने विषयमा बहस आवश्यक देखाएको छ।

ग्राहकको विश्वाससँग जोडिएको विषय

बीमा व्यवसाय विश्वासमा आधारित व्यवसाय हो। ग्राहकले आज प्रिमियम तिरेर भविष्यमा जोखिम पर्दा कम्पनीले साथ दिन्छ भन्ने विश्वासमा बीमा गर्छ। त्यसैले जोखिम परेको समयमा कम्पनीले दाबी प्रक्रिया झन्झटिलो बनाउने वा भुक्तानीमा अनावश्यक ढिलाइ गर्ने हो भने त्यसको प्रत्यक्ष असर बीमाप्रतिको जनविश्वासमा पर्न सक्छ।

प्राकृतिक विपत्तिले निर्जीवन बीमा व्यवसायमा दाबीको चाप बढाउन सक्छ। तर त्यही अवस्थामा कम्पनीहरूले दाबी छानबिन, मूल्यांकन र भुक्तानीलाई थप चुस्त बनाउनुपर्ने हुन्छ। अन्यथा बढ्दो बाँकी दाबीले व्यवसायको दीर्घकालीन स्थायित्वमै प्रश्न उठाउन सक्छ।

बीमा व्यवसायको सफलता कति प्रिमियम संकलन भयो भन्नेमा मात्र होइन, जोखिम पर्दा ग्राहकले कति छिटो र सहज रूपमा आफ्नो क्षतिपूर्ति पायो भन्नेमा पनि मापन हुन्छ। त्यसैले एक लाखभन्दा बढी दाबी फर्छ्योट हुन बाँकी रहनु कम्पनीहरूका लागि केवल तथ्यांक होइन, समग्र निर्जीवन बीमा व्यवसायले गम्भीर रूपमा लिनुपर्ने संकेत हो।

सम्बन्धित समाचार