काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र मन्त्रीहरूको कार्यशैलीलाई लिएर सांसदहरूबाटै असन्तुष्टि र प्रश्न उठ्न थालेपछि पार्टी सभापति रवि लामिछानेले सांसद तथा मन्त्रीहरूसँग सामूहिक छलफल गर्ने भएका छन्।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा पार्टीका सबै सांसद तथा मन्त्रीलाई बोलाइएको रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए।
पछिल्लो समय रास्वपाका केही सांसदले सरकारमा सहभागी आफ्नै पार्टीका मन्त्रीहरूको कार्यशैलीमाथि सार्वजनिक रूपमै प्रश्न उठाउन थालेका छन्। यसले पार्टीभित्र सरकार सञ्चालन र मन्त्रीहरूको भूमिकाबारे असन्तुष्टि बढ्दै गएको संकेत गरेको छ।
मंगलबार रास्वपा सांसद आशिका तामाङले परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति आक्रोश व्यक्त गरेकी थिइन्। सभामुख डोलप्रसाद अर्यालले बैठकमा मर्यादित रूपमा प्रस्तुत हुन आग्रह गरेपछि तामाङ बैठकबाट बाहिरिएकी थिइन्।
त्यसैगरी, रास्वपाकै सांसदहरूले पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ज्वरो आएका अवस्थामा समेत हेलिकप्टर प्रयोग गरेको विषयमा प्रश्न उठाएका छन्। मन्त्रीहरूको कार्यशैली र गतिविधिलाई लिएर पार्टीभित्र असन्तुष्टि बढिरहेका बेला सभापति लामिछानेले सांसद र मन्त्रीहरूलाई एउटै ठाउँमा राखेर छलफल गर्न लागेका हुन्।
पार्टीका केही सांसदलाई अनुशासनसम्बन्धी विषयमा सचेत गराउने तयारीसमेत भइरहेको बताइएको छ। बैठकमा सांसदहरूको असन्तुष्टि, मन्त्रीहरूको कार्यशैली तथा सरकारमा पार्टीको भूमिकाबारे छलफल हुने अपेक्षा गरिएको छ।