free website hit counter

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका अभिकर्ता सम्मानित

beemaadmin
२०८३ भाद्र ३, बुधबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता विकास प्रबन्धक तथा उदाउँदो सन क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।

कम्पनीको आयोजनामा भाद्र ३ गते भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजित कार्यक्रममा बागमती प्रदेशअन्तर्गत विभिन्न शाखाका अभिकर्ता विकास प्रबन्धक, उत्कृष्ट अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धकहरू सनत सत्याल, मुरारी प्रसाद तिवारी र आलोक खड्कालगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य क्षेत्रीय प्रबन्धक आलोक खड्काले गरेका थिए।

कार्यक्रममा बागमती प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता विकास प्रबन्धक तथा उदाउँदो सन क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। साथै, अन्तर्राष्ट्रिय स्तरको मिलियन डलर राउन्ड टेबलको सदस्यता हासिल गर्न सफल अभिकर्ताहरूलाई समेत विशेष सम्मान गरिएको थियो।

सम्मानित अभिकर्ताहरूलाई आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्न प्रोत्साहित गर्दै कम्पनीले अभिकर्ताको योगदानलाई उच्च प्राथमिकतामा राखेको सन्देश दिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बजार अधिकृत गणेश चौलागाईंले बागमती प्रदेशका अभिकर्ताहरूले उत्कृष्ट कार्यसम्पादन गर्दै कम्पनीको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै बधाई तथा शुभकामना दिए।

उनले आगामी दिनमा पनि अभिकर्ताहरूले अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्दै कम्पनीले अभिकर्तामुखी विभिन्न कार्यक्रम, योजना तथा प्रोत्साहनमूलक योजना सञ्चालन गर्दै आएको बताए। अभिकर्ताको सेवा–सुविधा तथा व्यावसायिक विकासमा आगामी दिनमा समेत थप ध्यान दिइने उनको भनाइ थियो।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले आफ्नो छुट्टै पहिचान तथा व्यावसायिक छवि निर्माण गर्न सफल भएको उल्लेख गर्दै त्यसको महत्वपूर्ण श्रेय कम्पनीका सम्पूर्ण अभिकर्ता तथा एजेन्सी सञ्जालको मेहनत, लगनशीलता र योगदानलाई जाने बताए।

उनले आगामी दिनमा अभिकर्ताहरूलाई थप सशक्त, सक्षम र व्यावसायिक बनाउँदै कम्पनीको यात्रालाई अझ मजबुत रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख कार्यकारी अधिकृत अर्यालले बागमती प्रदेश जीवन बीमा व्यवसाय विस्तारका दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै अभिकर्ताहरूको सक्रियता र नेतृत्व क्षमताले कम्पनीलाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका अभिकर्ता विकास प्रबन्धक, उत्कृष्ट अभिकर्ता, मिलियन डलर राउन्ड टेबलका उपलब्धि हासिल गरेका अभिकर्ता, शाखा प्रमुख, क्षेत्रीय प्रबन्धक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमले अभिकर्ताबीच आपसी सम्बन्ध विस्तार, नेतृत्व विकास, उत्प्रेरणा तथा व्यावसायिक क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको सहभागीहरूले बताएका छन्।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउँदै बीमाको पहुँच विस्तार, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यावसायिक विकासलाई प्राथमिकतामा राखेर आफ्नो यात्रा अघि बढाइरहेको जनाएको छ।

सम्बन्धित समाचार