free website hit counter

रास्वपामा मन्त्री हेरफेरको तयारी छैन

beemaadmin
२०८३ भाद्र ४, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तत्काल मन्त्री हेरफेर गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन्।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मन्त्री तथा मन्त्रालयका कामकारबाहीबारे पार्टीभित्र प्रश्न उठ्नु स्वाभाविक भएको बताए। तर त्यसकै आधारमा मन्त्री परिवर्तन गर्ने विषयमा कुनै छलफल नभएको उनको भनाइ छ।

‘कुनै पनि मन्त्रालय, मन्त्री वा उहाँहरूले १०० वटा काम गर्दा १/२ वटा वा ४/५ वटा काममा प्रश्नहरू आउनु स्वाभाविक हो। त्यसलाई हामी अस्वाभाविक मान्दैनौँ,’ उनले भने, ‘रास्वपाभित्र हामी आफैँ पनि प्रश्न गर्ने गर्दछौँ। मन्त्री फेर्ने कुनै तयारी छैन, कुनै छलफल छैन र त्यस्तो कुनै सम्भावना पनि छैन।’

लामिछानेले बुधबारको छलफल संसदीय दलको औपचारिक बैठक नभएको पनि स्पष्ट पारे। उनका अनुसार सभापतिले सांसदहरूसँग गरेको यो आन्तरिक छलफल मात्र हो।

औपचारिक संसदीय दलको बैठक भने पछि बस्ने उनले बताए।

छलफलमा संसद्मा पार्टीका सांसदहरूले प्रस्तुत गर्ने विषयवस्तु र भूमिकाबारे समेत कुराकानी भएको लामिछानेले जानकारी दिए। संसद्मा मर्यादित रूपमा प्रस्तुत हुने तथा आम नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउने विषयमा छलफल भएको उनको भनाइ छ।

सम्बन्धित समाचार