काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले कायम रहेको साधारण सेयर पुँजीको १० प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकको हाल कायम साधारण सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ रहेको छ। प्रस्तावित लाभांशअनुसार साधारण सेयरधनीले कुल १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ नगद लाभांश पाउनेछन्।
त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई पनि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिलाई आधार बनाएर करसहित ८.२५ प्रतिशतका दरले समानुपातिक नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ।
बैंकको अग्राधिकार सेयर पुँजी २ अर्ब रुपैयाँ रहेको छ। सोही आधारमा अग्राधिकार सेयरधनीका लागि ५ करोड २४ लाख ३८ हजार ३५६ रुपैयाँ नगद लाभांश छुट्याइएको छ।
यसरी बैंकले साधारण तथा अग्राधिकार सेयरधनीलाई गरी कुल १ अर्ब ४१ करोड ५ लाख ९० हजार ८९७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट समेत प्रस्ताव पारित हुनुपर्नेछ। साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नेछन्।
सानिमा बैंकले हाल सातै प्रदेशमा १३४ वटा कार्यालय र १२७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।