free website hit counter

भोटेकोशी बाढीले ५ जलविद्युत् आयोजना तथा सबस्टेसनमा ठूलो क्षति

beemaadmin
२०८३ भाद्र १३, शनिबार

काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली करिडोर क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण तथा उसका सहायक कम्पनीअन्तर्गतका पाँच जलविद्युत् आयोजना तथा सबस्टेसनमा ठूलो क्षति पुगेको छ।

प्राधिकरणका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, १४.१ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र र २२०/१३२/३३ केभीको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पूर्ण रूपमा क्षति पुगेको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले बाढीबाट जलविद्युत् क्षेत्रमा खरबौं रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए।

‘हामीले सोचेकोभन्दा धेरै ठूलो छ। यो अर्बमा मात्रै नभएर खरबमा हुन्छ। अहिले हाम्रो प्राथमिकता त्यहाँ फसेकाहरूको उद्धार र राहतमा काम गर्नु हो। क्षतिको विस्तृत मूल्याङ्कन केही समयपछि आउँछ,’ उनले भने।

आयोजनाको अवस्था भयावह, सयौं सम्पर्कविहीन

बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्‍याएको छ। प्राधिकरणका प्रवक्ता ढकालका अनुसार १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना बाढीले पूर्ण रूपमा बगाएको तथा पुरिएको अवस्थामा पुगेको छ।

त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा पनि ठूलो क्षति पुगेको छ। आयोजनाको पावरहाउस, सुरुङ तथा केबल डक्ट क्षेत्र पूर्ण रूपमा पुरिएका कारण आयोजनाको संरचना पहिचान गर्नसमेत कठिन भएको प्राधिकरणले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार आयोजनाहरूमा कार्यरत कर्मचारी, श्रमिक तथा स्थानीयसहित २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन छन्। रसुवागढी जलविद्युत् आयोजनामा मात्रै १०० भन्दा बढी कर्मचारी सम्पर्कविहीन रहेको बताइएको छ।

माथिल्लो त्रिशूली–३ ‘ए’को पावरहाउस तथा प्रवेश सुरुङभित्र करिब ४५ जना फसेको अनुमान गरिएको छ। तीमध्ये प्राधिकरणका ३० देखि ३५ जना कर्मचारी रहेको बताइएको छ। त्यस्तै, चिलिमे क्षेत्रमा १५ देखि २० जना तथा निर्माणाधीन आयोजनाहरूमा २५ जनाभन्दा बढी कर्मचारी सम्पर्कमा नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए।

उद्धार कार्यमा प्राविधिक चुनौती

भौगोलिक दुर्गमता, पहुँच मार्गमा भएको क्षति र निरन्तर पानीको बहावका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। नेपाली सेना, स्थानीय प्रशासन तथा प्राधिकरणका उच्चस्तरीय टोली घटनास्थलमा परिचालित छन्।

सुरुङ तथा पावरहाउसमा फसेकाहरूलाई अक्सिजन पुर्‍याउने, केबल डक्टमा प्वाल पार्ने तथा एक्साभेटर प्रयोग गरी उद्धारका लागि बाटो खोल्ने प्रयास भइरहेको श्रेष्ठले बताए।

उद्धारका लागि हेलिकप्टर, पर्वतारोहण विज्ञ तथा आवश्यक प्राविधिक उपकरण परिचालन गरिएको छ। सुरुङभित्र फसेका व्यक्तिका लागि आगामी ४८ देखि ७२ घण्टाभित्र अक्सिजनको पर्याप्त व्यवस्था गर्नु मुख्य प्राथमिकता रहेको प्राधिकरणले जनाएको छ।

४३० मेगावाट विद्युत् उत्पादन प्रभावित

बाढीका कारण प्राधिकरण तथा निजी क्षेत्रबाट प्रवर्द्धित १२ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त हुँदा राष्ट्रिय प्रसारण प्रणालीबाट करिब ४३० मेगावाट विद्युत् उत्पादन बाहिरिएको छ।

यद्यपि, उक्त परिमाणको विद्युत् उत्पादन प्रभावित भए पनि आन्तरिक माग व्यवस्थापनमा तत्काल समस्या नरहेको प्राधिकरणले जनाएको छ। देशव्यापी रूपमा विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्था नरहेको र लोड व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको प्राधिकरणका प्रवक्ता ढकालले बताए।

‘विपद्का कारण करिब ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिरिएको अवस्थामा प्राधिकरणले कसरी लोड व्यवस्थापन गर्छ भन्ने चासो स्वाभाविक हो। तर आन्तरिक माग पूरा गर्न कुनै समस्या छैन,’ उनले भने, ‘हामीले प्रभावकारी रूपमा व्यवस्थापन गरिरहेका छौं। त्यसैले आम उपभोक्ताले ढुक्क भएर आवश्यकताअनुसार विद्युत् खपत गर्न सक्नुहुन्छ।’

वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनर्बहाली

प्राधिकरणले क्षतिग्रस्त संरचनाको विकल्प खोज्दै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनर्बहालीको काम अघि बढाएको छ।

सिन्धुपाल्चोकको मेलम्चीबाट वैकल्पिक लाइन ल्याउनुका साथै काठमाडौं जाने ६६ केभी लाइनलाई ११ केभीमा रूपान्तरण गरी नुवाकोट, बट्टार तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाइएको प्राधिकरणले जनाएको छ।

त्यस्तै, धादिङको सल्यानटारबाट वैकल्पिक लाइन जोडेर अस्पताल तथा महत्वपूर्ण क्षेत्रमा विद्युत् आपूर्ति पुनर्बहाली गरिएको छ।

रसुवातर्फ भने विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध रहेको छ। धुन्चे क्षेत्रमा सान्जेन आयोजना वा फलाकु खोला फिडरबाट वैकल्पिक रूपमा विद्युत् आपूर्ति सञ्चालन गर्ने लक्ष्यसहित प्राविधिक टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

प्रवक्ता ढकालका अनुसार नुवाकोटमा करिब ९० प्रतिशत विद्युत् आपूर्ति पुनर्बहाली भइसकेको छ भने रसुवामा पनि वैकल्पिक मार्ग पहिचान गरी आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ।

सम्बन्धित समाचार