नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् राहत कोषमा १ करोड ५१ लाख सहयोग
beemaadmin २०८३ भाद्र १६, मंगलवार
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सकी सञ्चालक समिति अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको समेत उपस्थिति रहेको थियो ।
कम्पनीले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ । संकटको समयमा राज्यको राहत तथा उद्धार अभियानमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको भन्दै नेशनल लाइफले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।