free website hit counter

राजधानी बाहिरै ग्यास भरेर काठमाडौं पठाउन थालियो

beemaadmin
२०८३ भाद्र १८, बिहीबार

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन राजधानीबाहिरै सिलिन्डर भरेर पठाउन थालिएको छ।

ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट समेत काठमाडौं प्रवेश गर्न नसकेपछि विभिन्न उद्योगले अन्य जिल्लामा रहेका ग्यास उद्योगसँग समन्वय गरी सिलिन्डर भरेर ट्रकमार्फत उपत्यका पठाउन थालेका हुन्।

साल्ट ट्रेडिङ कर्पोरेसनको एसटिसी ग्याससमेत वीरगञ्जस्थित मनोज ग्यास उद्योगमा भरेर काठमाडौं पठाउन थालिएको छ।

नेपाल एलपी ग्यास उद्योग संघका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मंगलबार चितवनस्थित बाबा ग्यासले श्री ग्यासका १ हजार ५०० सिलिन्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङको नौबिसेमा रहेको छ।

त्यस्तै, चितवनको साइबाबा ग्यासले आफ्ना ९०० सिलिन्डर काठमाडौं पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका १ हजार २०० सिलिन्डर भरेर पठाएको छ।

गैँडाकोटस्थित जानकी ग्यास उद्योगले नौबिसेको श्रीराम ग्यास, हेटौँडाको साहारा ग्यासले काठमाडौंको एभरेष्ट र सुगम ग्यास भरेर पठाउन थालेका छन्।

कालाखेतीका अनुसार बनेपाको सगरमाथा ग्यासले परासीस्थित चण्डी ग्यासमा तथा बनेपाका लोकप्रिय, सुपर, तारा लगायतका ग्यास उद्योगले राजधानीबाहिरका विभिन्न उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन सुरु गरेका छन्।

उनका अनुसार भारतबाट नेपाल आउने ग्यासको आपूर्तिमा कमी आएको छैन। तर, सडक अवरुद्ध हुँदा बुलेटमार्फत ग्यास उद्योगसम्म पुर्‍याउन नसकिएका कारण उद्योगहरूले अन्य उद्योगमा सिलिन्डर भरेर आपूर्ति व्यवस्थापन गरिरहेका छन्।

‘ग्यासको अभाव हुने अवस्था छैन,’ कालाखेतीले भने। उनका अनुसार गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन एलपी ग्यास नेपाल भित्रिएको थियो, जुन हालसम्मकै उच्च परिमाणमध्ये एक हो। सोही अनुपातमा ग्यास आयात भइरहेकोले आपूर्तिमा तत्काल समस्या नहुने उनको भनाइ छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानीबाहिरका उद्योगमा ग्यास भर्न अनुमति दिएको छ।

उपत्यका तथा आसपासका क्षेत्रमा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उद्योगसँग समन्वय गरी सिलिन्डर भरेर काठमाडौं ल्याउन थालेका छन्।

अध्यक्ष चन्दका अनुसार काठमाडौं उपत्यका र आसपासका जिल्लामा मात्रै देशभर खपत हुने कुल एलपी ग्यासको करिब ४० प्रतिशत खपत हुने गर्छ। त्यसैले राजधानीमा नियमित आपूर्ति कायम राख्न वैकल्पिक व्यवस्थामार्फत ग्यास भित्र्याउने प्रयास भइरहेको हो।

सडक अवरुद्ध भएपछि बुलेटमार्फत ग्यास उद्योगसम्म नियमित आपूर्ति गर्न कठिनाइ भए पनि विभिन्न उद्योगबीचको समन्वय र वैकल्पिक ढुवानी व्यवस्थामार्फत उपत्यकामा ग्यासको अभाव हुन नदिने प्रयास भइरहेको व्यवसायीहरूले बताएका छन्।

सम्बन्धित समाचार