free website hit counter

भोटेकोशी बाढीपीडित बीमितलाई बीमा कम्पनीले अग्रिम दाबी भुक्तानी दिने

beemaadmin
२०८३ भाद्र १८, बिहीबार

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बीमितलाई बीमा कम्पनीहरूले क्षतिको पूर्ण मूल्याङ्कनअघि नै अग्रिम दाबी भुक्तानी गर्ने भएका छन्।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बीमितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले बीमा कम्पनीहरूले यस्तो निर्णय गरेका हुन्।

विशेषगरी जलविद्युत् आयोजना तथा ठूला भौतिक पूर्वाधारमा भएको क्षतिको पूर्ण मूल्याङ्कन गर्न लामो समय लाग्ने भएकाले बीमितको नगद प्रवाह सहज बनाउन अग्रिम दाबी भुक्तानी गर्ने सहमति भएको हो। यसबाट क्षतिग्रस्त आयोजना तथा पूर्वाधारको पुनर्निर्माण र पुनःस्थापनाको काम तत्काल अघि बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलपछि बीमा दाबी भुक्तानी प्रक्रियालाई सरल र छिटो बनाउँदै क्षतिको प्रारम्भिक मूल्याङ्कनका आधारमा अग्रिम रकम उपलब्ध गराउने निष्कर्षमा पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, बीमा दाबी मूल्याङ्कनका लागि सर्भेयर परिचालनलाई पारदर्शी र निष्पक्ष बनाउन स्वचालित प्रणाली अपनाइने भएको छ। आवश्यकताअनुसार विदेशी विज्ञ सर्भेयरहरूको समेत सेवा लिने व्यवस्था गरिनेछ।

बाढीबाट भएको ठूलो क्षतिका कारण बीमा कम्पनीमा पर्ने वित्तीय तथा तरलता दबाबलाई समेत ध्यान दिँदै दाबी भुक्तानी प्रक्रियालाई तीव्र बनाउने तयारी गरिएको छ।

बीमा दाबीहरूको दैनिक अनुगमन, बीमा कम्पनीहरूको तरलता व्यवस्थापन तथा पुनर्बीमाबाट शोधभर्ना प्राप्त गर्ने प्रक्रियालाई तीव्र बनाउन नेपाल बीमा प्राधिकरणभित्र विशेष कार्यदलसमेत गठन गरिएको छ।

बाढीबाट ठूलो मात्रामा जलविद्युत्, भौतिक पूर्वाधार, सम्पत्ति तथा सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भइरहेका बेला बीमा कम्पनीहरूको अग्रिम दाबी भुक्तानीको व्यवस्थाले प्रभावित बीमितलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार