काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा आफैं सहभागी भएर जलवायु परिवर्तन र जलवायु न्यायको विषय उठाउने तयारीमा छन् ।
यसअघि महासभामा परराष्ट्रमन्त्री शिशिर खनाललाई पठाउने तयारी भए पनि भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री शाह आफैं अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु संकटबारे आवाज उठाउने तयारीमा जुटेका हुन् ।
महासभाको उच्चस्तरीय बैठकमा सहभागी हुँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका बाढी, पहिरोलगायत विपद् तथा त्यसबाट भइरहेको मानवीय र भौतिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी रहेको उनीनिकट स्रोतले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरु हुँदैछ । महासभाको उच्चस्तरीय बैठक भने असोज ६ गतेदेखि सञ्चालन हुने कार्यतालिका छ । परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क जाने तयारी गरिएको छ ।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट नेपालजस्ता संवेदनशील मुलुकले भोगिरहेको संकट, विपद्बाट हुने क्षति न्यूनीकरण तथा जलवायु न्यायको आवश्यकताबारे विश्व समुदायसमक्ष नेपालको धारणा राख्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे औपचारिक निर्णय भने आगामी मन्त्रिपरिषद् बैठकबाट हुने बताइएको छ ।