free website hit counter

बीमासम्बन्धी गलत र भ्रामक प्रचार नगर्न प्राधिकरणको चेतावनी

beemaadmin
२०८३ भाद्र २१, आईतवार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमासम्बन्धी गलत, भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचारप्रसार नगर्न बीमा अभिकर्ता, बीमा कम्पनी तथा सम्बन्धित मध्यस्थकर्तालाई निर्देशन दिएको छ ।

इजाजतपत्रप्राप्त बीमा मध्यस्थकर्ताले विभिन्न संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी बीमासम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार गरेको भन्दै प्राधिकरणमा उजुरी तथा गुनासो प्राप्त भएपछि नियामकले यस्तो चेतावनी दिएको हो ।

प्राधिकरणका अनुसार बीमा अभिकर्ता निर्देशन, २०८३ को दफा १९ अन्तर्गत बीमा अभिकर्ताको आचारसंहिताको अनुसूची–१ को २(ज) मा भ्रामक प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था छ । उक्त प्रावधानअनुसार कुनै पनि बीमक वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमता तथा व्यवसायबारे गलत, भ्रामक वा अतिरञ्जित प्रचारप्रसार गर्न पाइँदैन ।

आचारसंहिताविपरीत यस्ता गतिविधि भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले त्यस्ता कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।

कानुनविपरीत प्रचार गरे कारबाही हुने

प्राधिकरणले बीमा ऐन, २०७९ तथा प्रचलित आचारसंहिताविपरीत हुने कुनै पनि किसिमका गलत, भ्रामक, अतिरञ्जित वा अनधिकृत प्रचारप्रसार गर्ने वा गराउने कार्य तत्काल बन्द गर्न सम्पूर्ण इजाजतपत्रप्राप्त बीमा कम्पनी तथा सम्बन्धित मध्यस्थकर्तालाई निर्देशन दिएको छ ।

त्यस्ता गतिविधि आगामी दिनमा दोहोरिएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।

बीमा व्यवसायलाई व्यवस्थित, नियमित तथा नियमन गर्ने आधिकारिक नियामक निकायका रूपमा रहेको प्राधिकरणले बीमासम्बन्धी सूचना तथा प्रचारप्रसार गर्दा तथ्यपरक र जिम्मेवार हुन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार