काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ८०औँ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक लिमिटेडको स्वामित्वमा वि.सं. २००४ सालमा ‘नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेड’का रूपमा स्थापना भएको कम्पनीले निर्जीवन बीमा सेवा प्रदान गर्दै ७९ वर्ष पूरा गरेको हो ।
कम्पनीले वि.सं. २००६ सालमा उद्योग परिषद्बाट इजाजत प्राप्त गरेको थियो । वि.सं. २०१६ सालमा नाम परिवर्तन गरी ‘नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड’ कायम गरिएको थियो भने वि.सं. २०४८ सालमा पुनः नाम परिवर्तन गरी ‘नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड’ राखिएको थियो ।
कम्पनीले बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१ तथा कम्पनी ऐन, २०६३ बमोजिम निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।
८०औँ वर्ष प्रवेशको अवसरमा कम्पनीले स्थापनादेखि हालसम्म साथ र सहयोग गर्ने सेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारी, सर्भेयर, बीमा अभिकर्तालगायत सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।
हाल कम्पनीमा २९८ कर्मचारी कार्यरत छन् भने देशभर ५४ शाखा कार्यालयमार्फत बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले प्रचलित कानुन तथा नियमनकारी निकायका निर्देशनको पालना गर्दै आगामी दिनमा अझ प्रभावकारी बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।