free website hit counter

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन, गगनको संयोजकत्वमा निर्देशन समिति

beemaadmin
२०८३ आश्विन १०, शनिबार

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ। महाधिवेशनको समग्र व्यवस्थापन, आर्थिक परिचालन, सूचना तथा सञ्चार, अतिथि सत्कार, आवास, भोजन, स्वास्थ्य, यातायातलगायतका कामलाई व्यवस्थित गर्न छुट्टाछुट्टै समिति गठन गरिएको हो।

कांग्रेस केन्द्रीय कार्यसमितिको भदौ १ गतेको निर्णयअनुसार सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको थियो। त्यसैलाई थप प्रभावकारी बनाउँदै महाधिवेशनसँग सम्बन्धित विभिन्न कामको जिम्मेवारी बाँडफाँट गर्न नयाँ समितिहरू गठन गरिएको कांग्रेसले जनाएको छ। शुक्रबार १५ वटा समिति गठन गरिएको विवरण सार्वजनिक भएको हो।

कांग्रेसको तय कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनअघि वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ।

गगनको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति

सभापति गगनकुमार थापाको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरिएको छ। समितिमा उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठसहित १२ जना सदस्य छन्। प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल सदस्य सचिव छन्।

महाधिवेशनका क्रममा गठन भएका सबै समितिबीच समन्वय गर्ने, आवश्यक निर्देशन दिने तथा महाधिवेशन व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण विषयमा निर्णय प्रक्रियालाई सहजीकरण गर्ने जिम्मेवारी निर्देशन समितिलाई दिइएको छ।

आर्थिक व्यवस्थापनदेखि सूचना प्रविधिसम्म

कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ। महाधिवेशनका लागि आवश्यक आर्थिक स्रोत व्यवस्थापन तथा खर्चसँग सम्बन्धित काम यही समितिले समन्वय गर्नेछ।

त्यस्तै, पार्टी प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा सूचना, सञ्चार तथा प्रविधि समिति गठन गरिएको छ। समितिमा केन्द्रीय सदस्यहरू हरिशरण नेपाली, अजयबाबु शिवाकोटी, डा. सुरेश आचार्य, शिव लम्साल, अनिता विन्दु, मोहन गजुरेल र शशांकश्री न्यौपाने सदस्य छन्।

उदयशमशेर राणाको संयोजकत्वमा सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समिति बनाइएको छ। समितिमा केन्द्रीय सदस्य नानु वास्तोला, प्रकाश पन्थ, मुना भुषाल, निपा चोखाल र ममता शर्मालगायत छन्। प्रत्येक प्रदेशबाट प्रदेश सभापतिको परामर्शमा एक–एक जना सदस्य रहने व्यवस्था गरिएको छ।

अतिथि स्वागतदेखि स्थल व्यवस्थापनसम्म

सहमहामन्त्री डा. डिला संग्रौला पन्तको संयोजकत्वमा अतिथि स्वागत समिति गठन गरिएको छ। समितिमा केन्द्रीय सदस्य शान्ति परियार, गीता सत्याल, प्रमोदहरि गुरागाईं र धर्मराज गौतम छन्।

काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा महाधिवेशन समारोह स्थल व्यवस्थापन समिति गठन गरिएको छ। यसमा ललितपुर, भक्तपुर र काभ्रे जिल्ला सभापतिका साथै काठमाडौं उपत्यकाभित्रका क्षेत्रीय तथा नगर सभापतिहरू सदस्य रहनेछन्।

सहमहामन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा प्रदेश तथा स्थानीय तहगत समन्वय समिति गठन गरिएको छ। समितिमा केन्द्रीय सदस्य प्रतिमा गौतम, जानकी सिंह, गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघका अध्यक्ष तथा प्रदेश सभापतिले तोकेको एक–एक जना सदस्य रहनेछन्।

ज्येष्ठ प्रतिनिधिदेखि स्वयंसेवक व्यवस्थापनसम्म

ज्येष्ठ महाधिवेशन प्रतिनिधिसँग समन्वय गर्न सुधीर शिवाकोटीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा अनुपा श्रेष्ठ तथा प्रत्येक प्रदेशबाट प्रदेश सभापतिले तोकेको एक–एक जना सदस्य रहनेछन्।

त्यस्तै, केन्द्रीय सदस्य गणेश लामाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ। समितिमा भूतपूर्व सैनिक संघ र भूतपूर्व प्रहरी संघका अध्यक्ष रहनेछन्।

महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि भोजन व्यवस्थापन गर्न केन्द्रीय सदस्य तिलक रानाभाटको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा केन्द्रीय सदस्य मनकुमारी गुरुङ, डा. अमिता प्रधान, मनोजमणि आचार्य तथा प्रत्येक प्रदेश कार्यसमितिबाट एक–एक जना सदस्य रहनेछन्।

आवास व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेशप्रसाद धमला छन्। समितिमा केन्द्रीय सदस्य नारायण भट्टराई, दिनेश सुनार, लेखनाथ पोख्रेल, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष तथा प्रत्येक प्रदेशबाट एक–एक जना सदस्य रहनेछन्।

स्वास्थ्य र यातायातको छुट्टाछुट्टै जिम्मेवारी

महाधिवेशनका क्रममा स्वास्थ्य सेवाको व्यवस्थापन गर्न केन्द्रीय सदस्य डा. केदारनरसिंह केसीको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरिएको छ। समितिमा डा. अन्जनीकुमार झा, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ र नेपाल लोकतान्त्रिक आयुर्वेद चिकित्सक संघका अध्यक्ष रहनेछन्।

त्यस्तै, यातायात व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य विजयबहादुर स्वाँरलाई तोकिएको छ। समितिमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका अध्यक्ष र सानुकाजी प्रजापति सदस्य छन्।

महाधिवेशनमा सांस्कृतिक तथा साहित्यिक गतिविधिको संयोजनका लागि केन्द्रीय सदस्य सीता गुरुङको संयोजकत्वमा सांस्कृतिक–साहित्यिक संयोजन समिति गठन गरिएको छ। समितिमा नेपाल सांस्कृतिक महासंघ र नेपाली लेखक संघका अध्यक्षसहित दुर्गा रायमाझी, प्रकाश लामिछाने र विपिन किरण सदस्य छन्।

यसैगरी, विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य इश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप गरिएको छ।

कांग्रेसले गठन गरिएका समितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्दै महाधिवेशनका विभिन्न तयारीलाई समन्वय गर्ने जनाएको छ। महाधिवेशनको निर्धारित मिति नजिकिँदै गर्दा पार्टीले अधिवेशनका विभिन्न तहका निर्वाचन प्रक्रिया र केन्द्रीय महाधिवेशनको व्यवस्थापनलाई समानान्तर रूपमा अघि बढाइरहेको छ। हालसम्म वडा अधिवेशन सम्पन्न भइसकेको र पालिका अधिवेशनहरू जारी रहेको कांग्रेसले जनाएको छ।

सम्बन्धित समाचार