काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित बीमितलाई बीमा दाबी भुक्तानी सहज बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले बीमितको मृत्यु वा बेपत्ता भएको अवस्थामा बीमासम्बन्धी कागजात नष्ट भएको, सक्कल बीमालेख उपलब्ध नभएको वा अन्य कारणले नियमित प्रक्रिया पूरा गर्न कठिनाइ भए पनि दाबी प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरेको हो।
दाबीका लागि बीमितको नाम, मृत्यु भएको मिति, मृत्युको कारण, बीमालेख नम्बर तथा दाबीकर्तासँगको नाता खुलाउनुपर्नेछ। साथै, दाबीकर्ताको परिचय र बीमितसँगको नाता प्रमाणित हुने कागजात पेश गर्नुपर्नेछ। नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपुर्जाजस्ता सरकारी कागजातलाई परिचय खुल्ने प्रमाणका रूपमा प्रयोग गर्न सकिनेछ।
बाढी तथा विपद्का कारण सक्कल बीमालेख नष्ट भएको अवस्थामा कम्पनीको अभिलेखमा रहेको प्रतिलिपिलाई आधार मानेर दाबी प्रक्रिया अघि बढाउन सकिनेछ। बीमितले प्रतिलिपि माग गरेमा कम्पनीले निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।
त्यस्तै, विपद्का कारण बीमितले नियमित बीमाशुल्क वा बीमालेख कर्जाको किस्ता तिर्न नसक्ने अवस्था भएमा ६ महिनासम्मको मोहलत दिनुपर्नेछ। मोहलत अवधिमा थप ब्याज नलाग्ने गरी किस्ता भुक्तानीको समय उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
बेपत्ता बीमितको हकमा समेत आवश्यक प्रमाण तथा प्रक्रिया पूरा गरी हकवालाले मृत्यु दाबी भुक्तानी लिन सक्ने व्यवस्था गरिएको छ। यस्तो दाबी भुक्तानीपछि बीमित जीवित रहेको प्रमाणित भएमा प्रचलित कानुनबमोजिम हुने कारबाही स्वीकार गर्ने स्वघोषणा वा प्रतिबद्धतापत्र हकवालाबाट लिनुपर्नेछ।
प्राधिकरणको यो व्यवस्थाले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण मृत्यु वा बेपत्ता भएका बीमितका परिवार तथा हकवालालाई दाबी भुक्तानी प्रक्रिया सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।