free website hit counter

अर्थमन्त्री वाग्ले दुईदिने भ्रमणका लागि अमेरिका प्रस्थान

beemaadmin
२०८३ आश्विन १७, शनिबार

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुईदिने भ्रमणका लागि अमेरिकाको राजधानी वासिङ्टन डीसी प्रस्थान गरेका छन्।

विश्व बैंक समूहका अध्यक्ष अजय बांगाको निमन्त्रणामा अर्थमन्त्री वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल शुक्रबार अमेरिकातर्फ प्रस्थान गरेको हो।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय तथा इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी)का उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, अमेरिकी निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग समेत छलफल गर्ने कार्यक्रम छ।

हालै भोटेकोसी नदीमा आएको बाढीबाट भौतिक तथा आर्थिक पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालन गर्ने विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग विशेष छलफल हुने बताइएको छ।

भ्रमणका क्रममा सडक, विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमा लगानी विस्तार गर्दै नेपालमा रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने विषयमा पनि छलफल हुनेछ।

विकास साझेदार तथा निजी क्षेत्रको लगानी नेपालमा थप भित्र्याउन आवश्यक पहल र सहकार्यका विषयमा समेत अर्थमन्त्री वाग्लेले सम्बन्धित अधिकारी तथा लगानीकर्तासँग छलफल गर्नेछन्।

सम्बन्धित समाचार