आक्रमणमा गम्भीर घाइते भएका कप्तान मच्छरले अन्तिम क्षणको प्रयासमा ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि विमानमा रहेका अन्य दुई फ्लाई दुबई पाइलट ककपिटमा प्रवेश गरी विमानको नियन्त्रण सम्हालेका थिए। यात्रुहरूले समेत आक्रमणकारी सहपाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए। त्यसपछि बोइङ ७३७ म्याक्स विमानलाई साउदी अरबको तबुक विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो।
घटनाका क्रममा विमान करिब एक मिनेटमै ३३ हजार फिटबाट १७ हजार फिटसम्म झरेको विवरण सार्वजनिक भएको छ। यस क्रममा विमानले आपत्कालीन संकेतसमेत पठाएको थियो। विमानमा रहेका अतिरिक्त पाइलटहरूको तत्काल हस्तक्षेपले ठूलो दुर्घटना टरेको बताइएको छ।
सामान्यतया छोटो दूरीको व्यावसायिक उडानमा दुई जना पाइलट मात्रै हुन्छन्। तर उक्त उडानमा चालक दलका दुई अतिरिक्त पाइलट यात्रुका रूपमा विमानमा थिए। उनीहरू कम्पनीकै ड्युटीमा रहेका पाइलट भएको फ्लाई दुबईले जनाएको छ।
उड्डयन क्षेत्रमा अर्को गन्तव्यमा चालक दललाई पुर्याउन विमानमा यात्रुका रूपमा पठाउने प्रक्रियालाई ‘डेडहेडिङ’ भनिन्छ। यस्तो अवस्थामा पाइलटले विमान सञ्चालन नगरे पनि कम्पनीको ड्युटीमै रहेको मानिन्छ।
उड्डयन विज्ञहरूका अनुसार अतिरिक्त पाइलटहरू अर्को उडानका लागि तेल अभिभमा आवश्यक हुन सक्ने वा हालको चालक दलको ड्युटी समय सकिन सक्ने अवस्थालाई ध्यानमा राखेर पठाइएको हुन सक्छ। लामो ढिलाइ वा अन्य कारणले पाइलटको तोकिएको ड्युटी समय सकिएपछि उनीहरूले विमान उडाउन पाउँदैनन् र आराम गर्नुपर्ने हुन्छ।
फ्लाई दुबईले भने ती दुई अतिरिक्त पाइलटलाई सोही उडानमा किन पठाइएको थियो भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
घटनापछि कप्तान मच्छरको साहस र यात्रु तथा चालक दलको तत्काल प्रतिक्रियाको प्रशंसा भएको छ। विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सफल हुनु ठूलो दुर्घटना टारिएको घटनाका रूपमा हेरिएको छ।
संयुक्त अरब इमिरेट्सका अधिकारीहरूले घटनालाई गम्भीर सुरक्षा घटनाका रूपमा अनुसन्धान गरिरहेका छन्। अक्टोबर ३ मा यूएईका अधिकारीहरूले सहपाइलटले विमान नियन्त्रणमा लिने प्रयास गरेको र घटनालाई सम्भावित आतंकवादी गतिविधिका रूपमा पनि अनुसन्धान भइरहेको बताएका छन्। घटनाको वास्तविक उद्देश्य र त्यसमा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन भन्नेबारे अनुसन्धान जारी छ।