काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दीपचन्द्र रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) र बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बढुवा गरेको छ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले रेग्मी र अकेलालाई क्रमशः डीसीईओ र एसीईओ पदमा बढुवा गर्ने निर्णय गरेको हो।
यसअघि बैंकको एसीईओका रूपमा कार्यरत रेग्मीले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका थिए। सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध उनी बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारीमा कार्यरत रहँदै आएका छन्।
रेग्मीले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्।
उनले थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।
त्यस्तै, एसीईओमा बढुवा भएका अकेला यसअघि बैंकको नायब महाप्रबन्धक तथा प्रमुख जोखिम अधिकृतका रूपमा कार्यरत थिए। दुई दशकभन्दा बढी बैंकिङ अनुभव भएका उनले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गरेका थिए। उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।
अकेलाले बैंकमा एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायत महत्वपूर्ण विभागको जिम्मेवारी सम्हालिसकेका छन्। उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत रहेका छन्।
उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
बैंकले रेग्मी र अकेलाको अनुभव तथा दक्षताबाट आगामी दिनमा बैंकको व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
ग्लोबल आइएमई बैंकले देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ। बैंकका अनुसार हाल ३६१ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ५९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालय छन्। बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गर्दै आएको जनाएको छ।