काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरिँदै छ।
घटस्थापनाका दिन पूजा कोठा वा दसैँघरमा दियो, कलश र गणेश स्थापना गरी शक्तिस्वरूपा दुर्गा भवानीको आह्वानसहित पूजाआराधना गरिन्छ। नवरात्रको पहिलो दिन बिहानै नित्यकर्म सम्पन्न गरी चोखो स्थानबाट बालुवा वा माटो ल्याएर पूजा कोठा वा दसैँघरमा राखिन्छ। त्यसमा जौ रोपेर जमरा राख्ने परम्परा छ।
दुर्गा भवानीलाई जौको अङ्कुर प्रिय मानिने धार्मिक विश्वासअनुसार घटस्थापनाका दिन रोपिएको जमरा विजयादशमीमा टीका र प्रसादसँगै ग्रहण गरिन्छ। जमरालाई समृद्धि, शुभता र विजयको प्रतीकका रूपमा लिने गरिन्छ। कुलपरम्पराअनुसार कतिपयले जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन्। जमराको प्रयोग आयुर्वेदिक औषधिका रूपमा समेत हुँदै आएको छ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जललाई पवित्र मानी विजयादशमीका दिन देवीको प्रसादका रूपमा ग्रहण गर्ने धार्मिक परम्परा छ। नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ। महाकालीलाई शक्ति, महालक्ष्मीलाई धनधान्य तथा ऐश्वर्य र महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजा गर्ने चलन छ।
धार्मिक मान्यताअनुसार दुर्गा भवानीले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायत आसुरी शक्तिको प्रतीक मानिएका राक्षसको वध गर्न विभिन्न रूप धारण गरेकी थिइन्। यही मान्यताका आधारमा दुर्गापक्षका नौ दिन देवीका विभिन्न स्वरूपको विशेष पूजाआराधना गरिन्छ।
यस वर्ष घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको जनाइएको छ। घटस्थापनासँगै सुरु भएको बडादसैँमा आगामी विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ।