काठमाडौं । सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना तथा हल्ला फैलिएको भन्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले महानवमी र विजयादशमी पर्वबारे भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
समितिले मंगलबार एक सूचना जारी गर्दै समितिबाट स्वीकृत पञ्चाङ्ग तथा पूर्वप्रकाशित तालिकाअनुसार नै धार्मिक पर्व मनाउन अनुरोध गरेको हो।
समितिका अनुसार भोलि २०८३ कात्तिक ३ गते मंगलबार महानवमी पर्व मनाउनुपर्नेछ। त्यसैगरी, पर्सि कात्तिक ४ गते बुधबार यथासमयमा देवी विसर्जन गरी आ–आफ्नो परम्पराअनुसार मान्यजनबाट विजयादशमीको टीका लगाउनुपर्नेछ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गर्दै सनातनी धार्मिक समाजमा भ्रम फैलाउने खालका सामग्री सम्प्रेषण गर्ने गतिविधि बढेको समितिको भनाइ छ। यस्ता भ्रमपूर्ण सूचना र हल्लाको पछि नलाग्न समितिले सबैमा अनुरोध गरेको छ।
समितिले धार्मिक पर्व तथा तिथिमितिबारे अन्योलमा नपरी आधिकारिक सूचना, स्वीकृत पञ्चाङ्ग र पूर्वप्रकाशित तालिकालाई आधार मानेर पर्व मनाउन सबैमा आग्रह गरेको छ।