काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा करिब १७ प्रतिशतले बढाएको छ । नाफामा वृद्धि भएसँगै बैंकको प्रतिसेयर आम्दानीमा सुधार आएको छ भने खराब कर्जा अनुपात पनि घटेको छ ।
बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअनुसार बैंकको खुद नाफा वार्षिक रूपमा १६.९९ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड ४६ लाख २८ हजार रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ पुगेको छ । यो करिब १९ प्रतिशतको वृद्धि हो ।
बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ थियो ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपातमा पनि सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुल कर्जाको ४.४१ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३.९३ प्रतिशतमा झरेको छ । त्यस्तै, नेट एनपीएल १.२४ प्रतिशतबाट घटेर ०.८४ प्रतिशतमा सीमित भएको छ ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि सुधार भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २३ रुपैयाँ १३ पैसा पुगेको छ ।
असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा करिब १६ करोड ४ लाख रुपैयाँ रहेको छ । वितरणयोग्य नाफाका आधारमा वार्षिकीकरण गरिएको प्रतिसेयर वितरणयोग्य नाफा १५ रुपैयाँ ७६ पैसा कायम भएको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात २०.५८ गुणा कायम भएको छ ।
निक्षेप र कर्जा प्रवाहमा पनि बैंकले वृद्धि गरेको छ । समीक्षा अवधिसम्म बैंकले ग्राहकबाट ६७ अर्ब ९० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको अन्त्यमा बैंकको निक्षेप करिब ६६ अर्ब १७ करोड रुपैयाँ थियो ।
त्यस्तै, बैंकले प्रवाह गरेको कर्जा तथा सापटी गत आर्थिक वर्षको अन्त्यमा ५४ अर्ब २० करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्म बढेर ५६ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
नाफा, प्रतिसेयर आम्दानी र कर्जा गुणस्तरमा आएको सुधारले पहिलो त्रैमासमा बैंकको वित्तीय अवस्था सकारात्मक देखिएको छ ।