free website hit counter

हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो

beemaadmin
२०८३ कार्तिक १२, बुधबार

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज कात्तिक ११ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ ।

Advertisement
Advertisement

यसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ करोड ९० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १६ लाख ९० हजार कित्ता सेयर निष्काशन गरिएको छ ।

Advertisement
Advertisement

स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता आयोजनाको अति प्रभावित क्षेत्रअन्तर्गत दोलखाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७६ हजार कित्ता सेयर बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दाले आवेदन दिन पाउनेछन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्काशन गरिएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन बन्द हुने मिति छिटोमा कात्तिक २५ गते तोकिएको छ । उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा कात्तिक १६ गते निष्काशन बन्द हुनेछ । सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा कात्तिक २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन् । आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ ।

सम्बन्धित समाचार