काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले आचार्यले नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरेको छ।
आयोगका अनुसार आचार्य जिल्ला विकास समितिको कार्यालय, खोटाङमा गाविस सचिवका रूपमा नियुक्त भएको २०५४ माघ २ गतेदेखि सार्वजनिक पदमा बहाल रहेको २०८० मंसिर २१ गतेसम्मको अवधिको सम्पत्ति तथा आयव्यय विवरण अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा उक्त अवधिमा आचार्य र उनीसँग एकासगोलमा रहेका परिवारका सदस्यको वैध आय छ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ रहेको पाइएको आयोगले जनाएको छ। तर, सोही अवधिमा उनीहरूले १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको देखिएको आयोगको भनाइ छ।
वैध आयको तुलनामा खर्च तथा लगानी अस्वाभाविक रूपमा बढी देखिएकाले नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्षसहित आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगले आचार्यकी श्रीमती ललिता राजभण्डारी तथा छोरीहरू निलु आचार्य र सरु आचार्यविरुद्ध पनि समान बिगो कायम गरी मागदाबी गरेको छ।
त्यस्तै, भक्तपुरको मध्यपुरथिमि–२ की प्रभा बस्नेत र काठमाडौंको पेप्सीकोलाकी कुमारी कटुवालविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपैयाँ बराबरको बिगो मागदाबी गरिएको आयोगले जनाएको छ।
यसैगरी, आयोगले आचार्य र उनका परिवारका सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुर गरेको अभियोगमा छुट्टै मुद्दासमेत दायर गरेको छ।