काठमाडौँ । नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवाल र न्यायपालिकासम्बन्धी समसामयिक विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।
बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षद्वय उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो तथा पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले सदस्य रहेका छन्। समितिको सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल छन्।
बारका महासचिव केदारप्रसाद कोइरालाका अनुसार समितिलाई हालको न्यायालयका विषयमा उठेका टिप्पणी तथा सवालका तथ्य सङ्कलन गरी समग्र न्यायक्षेत्रको उन्नयनका लागि आवश्यक सुझाव तयार गर्ने जिम्मेवारी दिइएको छ।
समितिले एक महिनाभित्र अध्ययन प्रतिवेदन र सुझाव पेस गर्ने समयसीमा तोकिएको छ।
बारको कार्यसमिति र सल्लाहकार समितिसमेतको संयुक्त बैठकले न्यायपालिकासम्बन्धी समसामयिक विषयमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।