free website hit counter

नेपाल लाइफको क्रेडिट रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, वित्तीय सुदृढतामा थप सुधार

beemaadmin
२०८३ कार्तिक १९, बुधबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रेडिट रेटिङ एक तह बढेर ‘डबल ए’ (AA) पुगेको छ। इक्रा नेपालले कम्पनीलाई यसअघि प्रदान गरेको [ICRANP-IR] AA− रेटिङलाई स्तरोन्नति गर्दै [ICRANP-IR] AA कायम गरेको हो।

कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको मूल्याङ्कनपछि रेटिङ बढाइएको इक्रा नेपालले जनाएको छ।

Advertisement
Advertisement

इक्रा नेपालका अनुसार AA रेटिङ प्राप्त संस्थाहरूले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा उच्च स्तरको सुरक्षा र अत्यन्त न्यून कर्जा जोखिम रहेको संकेत गर्छन्।

Advertisement
Advertisement

यसअघि जीवन बीमा क्षेत्रमा AA− रेटिङ प्राप्त गर्ने पहिलो कम्पनी बनेको नेपाल लाइफले आफ्नो रेटिङ थप एक तह सुधार गर्दै AA पुर्‍याएको हो। कम्पनीले यसलाई वित्तीय सुदृढीकरण र संस्थागत क्षमता अभिवृद्धिको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

इक्रा नेपालको पछिल्लो मूल्याङ्कनअनुसार कम्पनीको सोल्भेन्सी अनुपात अघिल्लो अवधिको करिब १४५ प्रतिशतबाट बढेर १५४ प्रतिशत पुगेको छ। यो बीमा नियामकले तोकेको न्यूनतम १३० प्रतिशतको सीमाभन्दा माथि हो।

त्यस्तै, कम्पनीले सरकारी सुरक्षणमा लगानी विस्तार गर्दै मुद्दती निक्षेपमा रहेको लगानीको एकाग्रता घटाएको छ। यसले लगानी पोर्टफोलियोलाई थप विविधीकृत र सुदृढ बनाएको मूल्याङ्कनमा उल्लेख छ।

आर्थिक वर्ष २०२५/२६ मा कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफको बजार हिस्सा करिब २७ प्रतिशत रहेको छ। उक्त अवधिमा कम्पनीले करिब ५४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको जीवन बीमा कोष करिब २७३ अर्ब र पोलिसी लोनसहित कुल लगानी करिब २८५ अर्ब रुपैयाँ पुगेको छ।

सन् २००१ देखि सञ्चालनमा रहेको कम्पनीले जुलाई २०२६ को मध्यसम्म देशभर १९६ वटा शाखा, उपशाखा तथा क्षेत्रीय कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। देशव्यापी शाखा सञ्जाल, सशक्त अभिकर्ता संरचना, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन र बलियो बजार उपस्थितिलाई इक्रा नेपालले कम्पनीका प्रमुख सबल पक्षका रूपमा औँल्याएको छ।

जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै कम्पनीले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्ससँग पर्याप्त पुनर्बीमा व्यवस्था कायम गरेको छ। आकस्मिक तथा विपद्जन्य जोखिम व्यवस्थापनका लागि पर्याप्त क्याटास्ट्रोफिक कभर र करिब १ अर्ब ५४ करोड रुपैयाँको विपद् जगेडा कोषसमेत रहेको कम्पनीले जनाएको छ।

रेटिङ स्तरोन्नतिबारे प्रतिक्रिया दिँदै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसलाई कम्पनीको निरन्तर सुधार, संस्थागत सुशासन, वित्तीय अनुशासन र सरोकारवालाको विश्वासको प्रतिफल भएको बताएका छन्।

उनले AA− बाट AA मा भएको स्तरोन्नति कम्पनीको वित्तीय सुदृढता, निरन्तर उत्कृष्टता र दीर्घकालीन प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सोल्भेन्सी अवस्था थप मजबुत बनाउने, लगानी विविधीकरण गर्ने र विवेकपूर्ण जोखिम व्यवस्थापनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित समाचार