काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम तथा महत्त्वपूर्ण दिन आज बुधबार भाइटीका पर्व मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन मनाइने यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै परम्पराअनुसार टीका लगाइदिने गर्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीका आज दिनभर लगाउन सकिने भए पनि शुभ साइत खोज्नेहरूका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको छ।
समितिले यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने जनाएको छ।
भाइटीका प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइन्छ। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने परम्परा छ। टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा प्रदान गर्ने चलन छ।
धार्मिक मान्यताअनुसार दिदीबहिनीको पूजा तथा सम्मान गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुन्छ। भाइटीकालाई दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्ध प्रगाढ बनाउने विशेष पर्वका रूपमा लिइन्छ।
अष्टचिरञ्जीवीको पूजा गरी टीका लगाउने परम्परा
भाइटीकाका दिन लक्ष्मीपूजामा स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरिन्छ। त्यसपछि अष्टचिरञ्जीवीका रूपमा मानिने मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामको आराधना गर्ने धार्मिक चलन छ।
यसका साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज तथा गणपत्यादि देवताको समेत पूजा गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले घेरेर पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्याउने गर्छन्।
उपहार र सगुन साटासाट
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटीलगायत विभिन्न परिकार सगुनका रूपमा दिने गर्छन्। दाजुभाइले पनि आफ्नो आर्थिक क्षमताअनुसार दिदीबहिनीलाई कपडा, उपहार तथा दक्षिणा दिएर सम्मान र माया प्रकट गर्ने परम्परा छ।
भाइटीका केवल धार्मिक अनुष्ठानमा सीमित नभई दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास, सद्भाव र आत्मीयतालाई थप बलियो बनाउने सांस्कृतिक पर्वका रूपमा स्थापित छ। टीकाका विभिन्न रङले पारिवारिक सम्बन्धलाई सधैँ गाढा, जीवन्त र प्रगाढ बनाइराख्ने विश्वाससमेत यस पर्वसँग जोडिएको छ।