काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको तिहारलगत्तै हुने भनिएको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी मंसिर ६ देखि ९ गतेसम्म भारत भ्रमण गर्ने प्रस्तावित कार्यतालिका बने पनि दुवै देशले औपचारिक रूपमा मिति सार्वजनिक गरेका छैनन्। भ्रमणका क्रममा उठाइने महत्त्वपूर्ण आर्थिक तथा द्विपक्षीय एजेण्डाबारे भने नेपालभित्रै पर्याप्त छलफल हुन बाँकी रहेको देखिएको छ।
बुधबार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा दिइएको पुष्टि गरेका थिए। पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भ्रमणका क्रममा आर्थिक सहकार्य, रसुवा–भोटेकोशी क्षेत्रको पुनर्निर्माणलगायत विषयमा छलफल हुन सक्ने संकेत गरेका थिए।
जैसवालले नेपाल र भारतबीचको सम्बन्धलाई व्यापक तथा विशेष साझेदारीका रूपमा व्याख्या गर्दै प्रधानमन्त्री शाहको भ्रमणमा आपसी हितका विभिन्न विषयमा छलफल हुने बताएका थिए। तर, भ्रमणको तयारी र नेपालले उठाउने एजेण्डाबारे नेपाली पक्षबाट भने औपचारिक जानकारी सार्वजनिक भएको छैन।
परराष्ट्रमन्त्री र अर्थमन्त्री दुवै कोप–३१ सम्मेलनमा सहभागी हुन टर्की पुगेका कारण पनि नेपालमा भ्रमणसम्बन्धी तयारीले अपेक्षित गति लिन नसकेको हुन सक्ने देखिन्छ।
यसअघि भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली समकक्षी अमृतबहादुर रायको निमन्त्रणामा कात्तिक १८ र १९ गते काठमाडौं भ्रमण गरेका थिए। सोही क्रममा उनले प्रधानमन्त्री शाहसँग भेट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेका थिए।
व्यापारदेखि सीमा व्यवस्थापनसम्मका विषयमा छलफल हुने
भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा व्यापार, ऊर्जा, जलविद्युत्, सम्पर्क सञ्जाल, विकास साझेदारी तथा सीमा व्यवस्थापनलगायत विषयमा द्विपक्षीय छलफल हुनेछ।
यद्यपि, यी विषयमा नेपालको प्राथमिकता के हुने र कुन एजेण्डालाई कसरी अघि बढाउने भन्नेबारे स्पष्ट तयारी सार्वजनिक भएको छैन। निजी क्षेत्रसँग समेत अहिलेसम्म पर्याप्त छलफल नभएको बताइएको छ।
बाढीपछिको पुनर्निर्माणका लागि भारतसँग सहयोग अपेक्षा
यसपटकको भारत भ्रमणमा नेपालले रसुवागढी–भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनःस्थापनालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
उक्त क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि नेपालले भारतसँग करिब दुई अर्ब अमेरिकी डलर बराबरको सहयोग अपेक्षा गरेको छ। तर, भारतले उक्त सहयोग उपलब्ध गराउने वा नगराउने विषयमा अहिलेसम्म स्पष्टता आएको छैन।
हतारमा सम्झौता नगर्न कूटनीतिज्ञहरूको सुझाव
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालले उठाउने एजेण्डाबारे पर्याप्त छलफल र तयारी नभएको भन्दै कूटनीतिक वृत्तमा चासो व्यक्त हुन थालेको छ।
छठ पर्वसमेत परेकाले कात्तिक ३० गतेसम्म नेपालका अधिकांश प्रशासनिक निकायको कामकाज प्रभावित हुने अवस्था छ। त्यसपछि मात्रै द्विपक्षीय भ्रमणका विषयमा विस्तृत छलफल र तयारी अघि बढाउँदा समय अपुग हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
कूटनीतिज्ञहरूले भारतसँग हुने छलफलमा नेपालको राष्ट्रिय हित, आर्थिक प्राथमिकता र दीर्घकालीन रणनीतिलाई केन्द्रमा राख्नुपर्ने सुझाव दिएका छन्। पर्याप्त अध्ययन र आन्तरिक सहमतिबिना हतारमा सम्झौता गर्दा विगतमा जस्तै विवादित वा नेपालको हितअनुकूल नहुने निर्णय हुन सक्ने भन्दै उनीहरूले सचेत रहन आग्रह गरेका छन्।
भारतसँगको सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा भ्रमणलाई उपयोग गर्नुपर्ने भए पनि त्यसका लागि नेपालले स्पष्ट एजेण्डा, बलियो वार्ता तयारी र आवश्यक गृहकार्य गर्नुपर्ने देखिन्छ।