free website hit counter

तीन महिनामै नेशनल लाइफले उठायो ७ अर्ब १९ करोड बीमा शुल्क

beemaadmin
२०८३ कार्तिक २८, शुक्रबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद बीमा शुल्क आर्जन उल्लेख्य वृद्धि गरेको छ । कम्पनीले असोज मसान्तसम्म ७ अर्ब १९ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३०.१४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको बीमा व्यवसाय विस्तारसँगै बीमा शुल्कबाट हुने आम्दानीमा उल्लेख्य सुधार देखिएको हो ।

Advertisement
Advertisement

बीमा शुल्क आर्जनसँगै कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब ४१ करोड ४६ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

Advertisement
Advertisement

कम्पनीको कुल आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ७ अर्ब ३१ करोड १४ लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब २० करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यद्यपि, आम्दानीमा भएको वृद्धिअनुसार कम्पनीको नाफा भने बढ्न सकेको छैन । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १२ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १४ करोड ८ लाख रुपैयाँ थियो । यसअनुसार कम्पनीको नाफा १०.८ प्रतिशतले घटेको हो ।

कम्पनीको खर्च बढ्नु नाफा घट्नुको प्रमुख कारण देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ रहेको कुल खर्च चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ८ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, अभिकर्तालाई प्रदान गरिने कमिशन खर्च पनि बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म ४७ करोड ७१ लाख रुपैयाँ रहेको यस्तो खर्च चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ५७ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ६० करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

त्यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० रुपैयाँ ३० पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ८ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

यसरी नेशनल लाइफको बीमा शुल्क आर्जन, लगानी तथा कर्जाबाट हुने आम्दानी र कुल आम्दानीमा सुधार देखिए पनि खर्चमा भएको वृद्धिका कारण कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ ।

सम्बन्धित समाचार