free website hit counter

तीन महिनामै २३ हजारभन्दा बढी बीमालेख सरेन्डर

beemaadmin
२०८३ कार्तिक २८, शुक्रबार

काठमाडौं । जीवन बीमालेख अवधि पूरा नहुँदै पोलिसी त्यागेर रकम फिर्ता लिने प्रवृत्ति बढेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा जीवन बीमालेख सरेन्डर गर्ने संख्या र त्यसबापत बीमा कम्पनीहरूले भुक्तानी गरेको रकम दुवै बढेको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म २३ हजार ७९५ वटा जीवन बीमालेख सरेन्डर भएका छन् । ती बीमालेखबापत बीमा कम्पनीहरूले ३ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ बीमितलाई फिर्ता गरेका छन् ।

Advertisement
Advertisement

गत आर्थिक वर्षको सोही अवधिमा २२ हजार ९९९ वटा बीमालेख सरेन्डर भएका थिए । त्यसबापत बीमा कम्पनीहरूले ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ भुक्तानी गरेका थिए । यस वर्ष बीमालेख सरेन्डर गर्ने संख्या ३.४६ प्रतिशतले बढ्दा फिर्ता भएको रकम भने ११.५० प्रतिशतले वृद्धि भएको छ ।

Advertisement
Advertisement

यसले बीमा अवधि पूरा हुनुअघि नै बीमालेख त्यागेर रकम फिर्ता लिने बीमितको संख्या बढ्दै गएको देखाउँछ । सरेन्डरको संख्या र भुक्तानी रकम दुवै बढ्नुले जीवन बीमा व्यवसायमा बीमालेख निरन्तरताको चुनौती कायमै रहेको संकेत गर्छ ।

यद्यपि, समयमा बीमाशुल्क नबुझाउँदा व्यतीत (ल्याप्स) हुने बीमालेखको संख्यामा भने उल्लेख्य कमी आएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म १० लाख १६ हजार ७१२ वटा बीमालेख व्यतीत भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १२ लाख २० हजार ५४८ रहेको थियो । यसअनुसार व्यतीत हुने बीमालेखको संख्या १६.७० प्रतिशतले घटेको छ ।

व्यतीत बीमालेखको रकममा पनि सामान्य गिरावट आएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म ३६ अर्ब ७८ करोड ६७ लाख रुपैयाँ बराबरका बीमालेख व्यतीत भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३६ अर्ब १३ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ । यो गत वर्षको तुलनामा १.७८ प्रतिशतले कम हो ।

यसरी हेर्दा बीमाशुल्क समयमा नबुझाएका कारण निष्क्रिय हुने बीमालेखको संख्या र रकम घटेको भए पनि बीमा अवधि पूरा नहुँदै पोलिसी सरेन्डर गर्ने प्रवृत्ति भने बढेको छ ।

बीमालेख सरेन्डर हुनुमा बीमितको आर्थिक अवस्था, नियमित बीमाशुल्क भुक्तानी गर्न नसक्ने अवस्था, बीमालेखका सर्त तथा सुविधाबारे पर्याप्त जानकारी नहुनु र उचित परामर्शको अभावलगायत कारण जिम्मेवार हुन सक्छन् । नियमित आम्दानीको अभाव वा तत्काल आर्थिक आवश्यकता पर्दा पनि बीमितले बीमालेख त्याग्ने निर्णय गर्न सक्छन् ।

जीवन बीमाको उद्देश्य दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु हो । तर, बीमितले अवधि पूरा नहुँदै बीमालेख त्याग्ने क्रम बढ्नुले बीमा कम्पनीका लागि ग्राहकलाई लामो समयसम्म बीमालेखमा आबद्ध राख्ने चुनौती रहेको देखाउँछ । त्यसैले बीमा कम्पनीहरूले बीमालेख बिक्रीसँगै बीमितलाई निरन्तर बीमाशुल्क भुक्तानीको महत्त्व, बीमालेखका सुविधा र सरेन्डर गर्दा पर्न सक्ने आर्थिक असरबारे पर्याप्त जानकारी दिनुपर्ने देखिन्छ ।

सम्बन्धित समाचार