वीरगञ्ज । ग्राहकले खाइरहेको खानामा मरेको साङ्लो भेटिएपछि वीरगञ्जको एक बिरयानी हाउसलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई जिल्ला प्रशासन कार्यालय पर्साले २ लाख रुपैयाँ जरिवाना गरेको हो ।
ग्राहकले खानाका क्रममा परिकारमा मरेको साङ्लो फेला पारेपछि खाद्य स्वच्छतामाथि प्रश्न उठेको थियो । त्यसपछि गरिएको अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि उक्त जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए ।
खाद्य पदार्थमा साङ्लोजस्तो कीरा भेटिनुले होटल तथा रेस्टुरेन्टमा सरसफाइ र खाद्य सुरक्षासम्बन्धी मापदण्ड पालना कति आवश्यक छ भन्ने विषयलाई पुनः उजागर गरेको छ ।