काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको खस्किँदो राजनीतिक प्रभाव पुनः स्थापित गर्न संगठनलाई सक्रिय बनाउँदै आन्दोलन र निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शनिबार (कात्तिक २८ गते) एमाले वाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीको राजनीतिक तथा संगठनात्मक अवस्था सुधार्नुपर्नेमा जोड दिएका हुन् । उनले एमाले देशको सही विचार बोकेको, संगठित, प्रभावकारी र उज्ज्वल भविष्य भएको पार्टी हो भन्ने सन्देश जनतामाझ पुनः स्थापित गर्नुपर्ने बताए ।
ओलीले केन्द्रीय कमिटीले पार्टीका लागि आन्दोलन र निर्वाचनलाई दुई प्रमुख कार्यभारका रूपमा निर्धारण गरेको उल्लेख गर्दै दुवै मोर्चामा प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताए । उनका अनुसार राजनीतिक असन्तुष्टि व्यक्त गरेर मात्रै पार्टीको अवस्था सुधार्न सम्भव छैन । त्यसका लागि आन्दोलनमा जानुका साथै आगामी निर्वाचनमार्फत जनतामा नयाँ विश्वास र प्रभाव सिर्जना गर्न आवश्यक छ ।
उनले पार्टीका सबै जनवर्गीय, पेसागत तथा सामुदायिक संगठनलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिए । कुनै पनि जनसंगठन निष्क्रिय अवस्थामा रहन नहुने भन्दै उनले संगठनभित्र पार्टीप्रतिको निष्ठा कमजोर हुँदै गएकोमा असन्तुष्टि व्यक्त गरे ।
पार्टीको नाममा कार्यकर्ता बनेर मात्रै नहुने उल्लेख गर्दै ओलीले कार्यकर्तामा पार्टीप्रतिको निःसर्त निष्ठा हुनुपर्ने बताए । व्यक्तिगत स्वार्थ र अवसरका आधारमा पार्टीमा रहने प्रवृत्तिले संगठन बलियो नबन्ने उनको भनाइ थियो ।
विशेषगरी वाग्मती प्रदेशमा एमालेको संगठनात्मक तथा राजनीतिक प्रभाव अपेक्षाभन्दा कमजोर भएको ओलीले स्वीकार गरे । विगतमा राजधानीसहित प्रदेशका विभिन्न क्षेत्रमा एमालेको बलियो पकड रहेको स्मरण गर्दै उनले अहिले पार्टी पछाडि परेको अवस्थालाई अन्त्य गर्नुपर्ने बताए ।
उनले वाग्मती प्रदेशलाई पुनः एमालेको प्रभावशाली आधार क्षेत्रका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । पार्टीको संगठन विस्तार, कार्यकर्ताको सक्रियता र जनतासँगको सम्बन्धलाई बलियो बनाएर प्रदेशलाई नमुना एमाले प्रदेश बनाउनुपर्ने उनको भनाइ थियो ।
सम्बोधनका क्रममा ओलीले पछिल्लो समय जनताले राजनीतिक दल र नेताको विचार, पृष्ठभूमि, इतिहास, चरित्र तथा कार्यसम्पादनको मूल्यांकन नगरी लहैलहैमा निर्णय गर्ने प्रवृत्ति बढेको टिप्पणी गरे । उनले राजनीतिक नेतृत्वको विचार, आचरण र आर्थिक गतिविधिबारे जनतालाई सचेत गराउनु पार्टीको जिम्मेवारी भएको बताए ।
जनतालाई राजनीतिक भ्रमबाट मुक्त गराउँदै पार्टीप्रति पुनः आकर्षित गर्न नेता तथा कार्यकर्ताले निरन्तर काम गर्नुपर्ने उनको भनाइ थियो ।
ओलीले विशेषगरी युवालाई पार्टी संगठनमा जोड्न र राजनीतिक गतिविधिमा सक्रिय बनाउन निर्देशन दिए । युवाको सहभागिता र परिचालनबिना पार्टीले अपेक्षित सफलता हासिल गर्न कठिन हुने भन्दै उनले युवा पुस्तामाझ पुगेर उनीहरूलाई संगठित गर्न आग्रह गरे ।
एमाले अध्यक्ष ओलीको यो निर्देशन पार्टीको खस्किँदो जनमत र संगठनात्मक प्रभाव सुधार्ने प्रयासका रूपमा हेरिएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र राजनीतिक अभियानलाई प्राथमिकता दिनुपर्ने सन्देश उनले दिएका छन् ।