काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नेपालको जनकपुरधाम र उत्तर प्रदेशको अयोध्यालाई जोड्ने साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
भारतीय रेल मन्त्रालयले शनिबार जनकपुरधामदेखि अयोध्यासम्म यात्रुवाहक रेल सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो । प्रधानमन्त्री शाह आगामी मंसिर ६ गतेदेखि भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन् । उनको भ्रमणको पूर्वसन्ध्यामा दुई देशका महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई रेलमार्गबाट जोड्ने निर्णय भएको हो ।
प्रस्तावित रेल सेवा सञ्चालनमा आएपछि जनकपुरधाम र अयोध्याबीचको धार्मिक पर्यटन तथा सीमापार यातायात सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ । रामायण सर्किटसँग सम्बन्धित यी दुई ऐतिहासिक तीर्थस्थललाई रेलमार्गबाट जोड्ने निर्णयले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने भारतीय पक्षको विश्वास छ ।
भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म करिब ६०४ किलोमिटर दूरीमा रेल सञ्चालन हुनेछ । रेल बिहार र उत्तर प्रदेशका विभिन्न सहर तथा बस्ती हुँदै गन्तव्यमा पुग्नेछ ।
स्वीकृत तालिकाअनुसार रेल प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने प्रत्येक सोमबार अयोध्या क्यान्टबाट जनकपुरधाम फर्किनेछ ।
रेलका प्रमुख बिसौनीमा जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम रहेका छन् ।
भारतीय रेल मन्त्रालयले माता सीताको जन्मस्थलका रूपमा परिचित जनकपुरधाम र भगवान् रामको जन्मस्थलका रूपमा मानिने अयोध्याबीच प्रत्यक्ष रेल सम्पर्कले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने जनाएको छ । विशेषगरी दुवै तीर्थस्थलको दर्शन गर्न जाने नेपाली तथा भारतीय तीर्थयात्री र पर्यटकलाई यसबाट सहजता हुने अपेक्षा गरिएको छ ।
धार्मिक पर्यटनबाहेक शिक्षा, व्यापार तथा पारिवारिक प्रयोजनका लागि नेपाल र भारतबीच आवतजावत गर्ने यात्रुलाई समेत रेल सेवाले लाभ पुर्याउने भारतीय पक्षको भनाइ छ ।
रेल सेवा सञ्चालनपछि मार्ग आसपासका पर्यटन व्यवसाय, होटल, स्थानीय व्यापार तथा परम्परागत हस्तकलासँग सम्बन्धित व्यवसायले पनि आर्थिक लाभ लिन सक्ने अपेक्षा गरिएको छ । विशेषगरी नेपाल र बिहारका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि यातायातको थप विकल्प उपलब्ध हुनेछ ।
भारत र नेपालका अधिकारीबीच रेल सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय विषयमा छलफल भएपछि भारतीय रेल मन्त्रालयले प्रस्तावलाई स्वीकृति दिएको हो । दुई देशबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ रेल सेवाले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने जनाएको छ ।
यसअघि पनि नेपाल र भारतबीच सीमापार रेल सञ्जाल विस्तार तथा जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालन गर्ने विषयमा यसै वर्ष जुन महिनामा द्विपक्षीय छलफल भएको थियो ।
प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध, व्यापार, यातायात तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । यस्तो अवस्थामा जनकपुरधाम–अयोध्या रेल सेवाको प्रस्ताव स्वीकृत हुनुले धार्मिक पर्यटन र सीमापार यातायात सम्पर्क विस्तारलाई थप प्राथमिकतामा राखेको संकेत गरेको छ ।
नयाँ रेल सेवाले दुई देशबीचको धार्मिक आस्थालाई यातायात सञ्जालसँग जोड्नुका साथै पर्यटन, स्थानीय अर्थतन्त्र र जनस्तरको सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।