काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको खुद बीमाशुल्क आर्जनमा उल्लेख्य गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन ४१.४५ प्रतिशतले घटेको हो।
समीक्षा अवधिमा कम्पनीले ५९ करोड १९ लाख ७१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।
खुद बीमाशुल्क आर्जनमा आएको गिरावटसँगै कम्पनीको नाफामा पनि ठूलो असर परेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले ९ करोड ८५ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २४ करोड ७९ लाख ३९ हजार रुपैयाँ थियो। यसअनुसार कम्पनीको नाफा ६०.२५ प्रतिशतले घटेको छ।
कम्पनीको कुल आम्दानीसमेत घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २५ करोड ९३ लाख २२ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ७९ करोड ८७ लाख १९ हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ।
यता, कम्पनीको कुल खर्चमा भने कमी आएको छ। गत वर्षको असोजसम्म ९१ करोड ९३ लाख ९४ हजार रुपैयाँ रहेको कुल खर्च चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ६६ करोड ३७ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ।
कम्पनीको चुक्ता पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको सञ्चित घाटा ३ अर्ब २४ करोड ५ लाख ९३ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको कुल सम्पत्ति २५ अर्ब ९९ करोड ९९ लाख ९९ हजार रुपैयाँ रहेको छ भने कुल दायित्व १३ अर्ब ५२ करोड ९४ लाख ३० हजार रुपैयाँ रहेको छ।
नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ रुपैयाँ १३ पैसा रहेको वार्षिकीकरण गरिएको ईपीएस चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर ३ रुपैयाँ ६३ पैसामा झरेको छ।
त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १२५.५३ गुणा रहेको छ।