काठमाडौं । सर्वसाधारणका लागि ७९ करोड २० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको निलगिरी खोला हाइड्रोपावरको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार खुद नाफा बढेर ७४ करोड ६३ लाख रुपैयाँ पुगेको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जम्मा ६५ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। एक वर्षको अवधिमा नाफामा आएको यो ठूलो वृद्धिले कम्पनीको वित्तीय अवस्थामा सुधार आएको देखाएको छ।
नाफासँगै कम्पनीको आम्दानीमा पनि वृद्धि भएको छ। गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब १८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १ अर्ब ५९ करोड रुपैयाँ थियो।
कम्पनीको नाफा र आम्दानी बढेसँगै प्रतिशेयर आम्दानी (ईपीएस) मा समेत उल्लेख्य सुधार आएको छ। अघिल्लो आर्थिक वर्षमा ०.२१ रुपैयाँ रहेको ईपीएस गत आर्थिक वर्षमा बढेर २३ रुपैयाँ ५६ पैसा पुगेको छ।
यद्यपि, कम्पनीको कुल सम्पत्तिमा भने सामान्य गिरावट देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको कुल सम्पत्ति १५ अर्ब १८ करोड ७९ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो सम्पत्ति १५ अर्ब ६१ करोड ८३ लाख रुपैयाँ थियो।
त्यस्तै, आयोजना निर्माणका लागि लिएको ऋण पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा ४४ करोड ३६ लाख रुपैयाँ रहेको ऋण गत आर्थिक वर्षमा बढेर ५० करोड रुपैयाँ पुगेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ।
निलगिरी खोला हाइड्रोपावरले सर्वसाधारणका लागि ७९ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७९ लाख २० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति मागेको हो। यसका लागि कम्पनीले २०८१ साउन २२ गते नै बोर्डमा आवेदन दिएको थियो।
आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ। तर, सेबोनबाट निष्कासन अनुमति प्राप्त भएपछि मात्रै कम्पनीको आईपीओ सार्वजनिक निष्कासन प्रक्रियामा अघि बढ्नेछ।
सेबोनले गत कात्तिक ११ गते आईपीओ निष्कासनको अनुमति पर्खिरहेका ११७ कम्पनीलाई छ चरणमा वर्गीकरण गरेको थियो। उक्त वर्गीकरणअनुसार निलगिरी खोला हाइड्रोपावर चौथो चरणमा परेको छ।
प्रभु क्यापिटलले निलगिरी खोलासहित छायाँदेवी कम्प्लेक्स, आईएमई लिमिटेड, श्री डिस्टिलरी, एलसी इनर्जी, अतिथि रिसोर्ट एन्ड स्पा र डिस मिडिया नेटवर्कको समेत आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापन गरिरहेको छ।
निलगिरी खोला हाइड्रोपावरले म्याग्दीको नारच्याङ क्षेत्रमा कुल १०९ मेगावाट क्षमताका दुईवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यावसायिक विद्युत् उत्पादन गरिरहेको छ।
कम्पनीले प्रवर्द्धन गरेको ७१ मेगावाट क्षमताको निलगिरी खोला–२ आयोजनाले २०८० चैत २४ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। त्यस्तै, ३८ मेगावाट क्षमताको निलगिरी खोला–१ आयोजनाले २०८१ साउन २१ गतेदेखि विद्युत् उत्पादन थालेको हो।
दुवै आयोजना सञ्चालनमा आएसँगै विद्युत् बिक्री कम्पनीको आम्दानीको प्रमुख स्रोत बनेको छ। पछिल्लो वित्तीय विवरणमा देखिएको आम्दानी र नाफाको वृद्धिमा सञ्चालनमा रहेका आयोजनाको योगदान महत्त्वपूर्ण रहेको देखिन्छ।
निलगिरी खोला हाइड्रोपावरको सञ्चालक समितिमा तीन जना रहेका छन्। कम्पनीको अध्यक्षमा महेश्वर प्रकाश श्रेष्ठ छन्। त्यस्तै, शिवान्तबहादुर पाण्डे र इशा श्रेष्ठ सञ्चालकका रूपमा रहेका छन्।
दुवै आयोजना सञ्चालनमा आइसकेको र वित्तीय विवरणमा नाफा तथा आम्दानीमा उल्लेख्य सुधार देखिएको अवस्थामा कम्पनी सर्वसाधारणबाट पुँजी जुटाउने प्रक्रियामा छ। सेबोनबाट आईपीओ निष्कासनको अनुमति पाएपछि कम्पनीको सेयर सर्वसाधारणका लागि खुला हुनेछ।