काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरूको खुद नाफा सामान्य बढेको छ। असोज मसान्तसम्म वित्तीय विवरण सार्वजनिक गरेका ४८ वटा लघुवित्तले कुल २ अर्ब १३ करोड ३८ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यो नाफा गत आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासको तुलनामा १.४४ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा यी संस्थाहरूले २ अर्ब १० करोड ३४ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए। यस वर्ष नाफा ३ करोड ३ लाख ४१ हजार रुपैयाँले बढेको देखिन्छ।
नाफाका आधारमा छिमेक लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा रहेको छ। समीक्षा अवधिमा छिमेकले २७ करोड ३३ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाको नाफा २६ करोड ९० लाख २ हजार रुपैयाँ थियो। यसअनुसार छिमेकको नाफा १.६२ प्रतिशतले वृद्धि भएको हो।
दोस्रो स्थानमा रहेको डेप्रोक्स लघुवित्तले २१ करोड ९९ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यस्तै, जीवन विकास लघुवित्त २० करोड १५ लाख १० हजार रुपैयाँ नाफासहित तेस्रो स्थानमा रहेको छ।
नाफाका आधारमा नेसनल लघुवित्त चौथो स्थानमा छ। संस्थाले पहिलो त्रैमासमा १९ करोड ५ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको तुलनामा यसको नाफा ३२.०५ प्रतिशतले बढेको हो।
साना किसान विकास लघुवित्तले १८ करोड ३६ लाख १५ हजार रुपैयाँ नाफा कमाए पनि गत वर्षको तुलनामा यसको नाफा १९.६४ प्रतिशतले घटेको छ। निर्धन उत्थान लघुवित्तले ११ करोड ५४ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ। तर, यसको नाफा पनि अघिल्लो वर्षको तुलनामा ८.४९ प्रतिशतले घटेको छ।
त्यस्तै, एनआईसी एसिया लघुवित्तले ११ करोड ११ लाख ४१ हजार रुपैयाँ र सूर्योदय वोमी लघुवित्तले १० करोड ८४ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
मेरो माइक्रोफाइनान्स भने अघिल्लो वर्षको घाटाबाट बाहिरिँदै नाफामा फर्किएको छ। संस्थाले समीक्षा अवधिमा ८ करोड ६६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। स्वारोजगार लघुवित्तले ७ करोड ३१ लाख ९८ हजार, ग्लोबल आइएमई लघुवित्तले ६ करोड ७१ लाख २ हजार र स्वावलम्बन लघुवित्तले ६ करोड ४१ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्।
यसैगरी, एनएमबी लघुवित्तले ५ करोड ९७ लाख १० हजार रुपैयाँ, मातृभूमि लघुवित्तले ४ करोड ५७ लाख ७ हजार रुपैयाँ, महिला लघुवित्तले ४ करोड ३७ लाख २९ हजार रुपैयाँ र मिथिला लघुवित्तले ४ करोड ३४ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएका छन्।
समग्रमा लघुवित्त क्षेत्रको नाफा बढे पनि सबै संस्थाको वित्तीय अवस्था सकारात्मक देखिएको छैन। समीक्षा अवधिमा सातवटा लघुवित्त संस्था खुद घाटामा रहेका छन्।
समता घरेलु लघुवित्तले २५ लाख २६ हजार रुपैयाँ घाटा बेहोरेको छ। सामुदायिक लघुवित्तको घाटा ६७ लाख ४१ हजार रुपैयाँ पुगेको छ भने जनउत्थान सामुदायिक लघुवित्त १ करोड ७ लाख ३ हजार रुपैयाँ खुद घाटामा रहेको छ।
त्यस्तै, आरम्भ चौतारी लघुवित्तले २ करोड ३५ लाख ६३ हजार रुपैयाँ घाटा बेहोरेको छ। नेरुडे मिर्मिरे लघुवित्तको खुद घाटा २ करोड ७९ लाख ९९ हजार रुपैयाँ रहेको छ। विजय लघुवित्तले ६ करोड ६९ लाख ८६ हजार रुपैयाँ घाटा बेहोर्दा सीवाईसी नेपाल लघुवित्तको घाटा ७ करोड ४४ लाख ६८ हजार रुपैयाँ पुगेको छ।
यसरी पहिलो त्रैमासमा लघुवित्त क्षेत्रको समग्र खुद नाफा सामान्य बढे पनि संस्थागत रूपमा नाफा र घाटाको अवस्था फरक–फरक देखिएको छ। केही संस्थाले नाफा उल्लेख्य बढाएका छन् भने केहीको नाफा घटेको छ। अघिल्लो वर्ष घाटामा रहेका संस्था नाफामा फर्किएका उदाहरणसँगै केही संस्थाको घाटा कायम रहनुले लघुवित्त क्षेत्रको वित्तीय प्रदर्शनमा एकरूपता नरहेको देखाउँछ।