काठमाडौं । तिहारपछि सुनको मूल्यमा लगातार गिरावट आएको छ। कारोबार पुनः सुरु भएको पाँच दिनमै सुनको भाउ प्रतितोला २३ हजार ४०० रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारअघि कात्तिक २३ गते सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ थियो। घट्दै गएको मूल्य बुधबार (मंसिर २) आइपुग्दा २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ।
तिहार बिदापछि कात्तिक २७ गते शुक्रबार सुनचाँदीको कारोबार सुरु भएको थियो। त्यस दिन महासंघले सुनको मूल्य एकैपटक १२ हजार ६०० रुपैयाँ घटाएर प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ निर्धारण गरेको थियो।
त्यसपछि कात्तिक २८ गते शनिबार परेकाले आइतबार मात्रै नयाँ मूल्य निर्धारण भयो। कात्तिक २९ गते सुनको मूल्य थप १ हजार ५०० रुपैयाँ घटेर २ लाख ७० हजार २०० रुपैयाँमा झर्यो।
त्यस्तै, कात्तिक ३० गते सोमबार थप १ हजार १०० रुपैयाँ घट्दै प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ कायम भयो। मंसिर १ गते मंगलबार पनि सुनको मूल्य १ हजार ९०० रुपैयाँ घटेर २ लाख ६७ हजार २०० रुपैयाँमा सीमित भएको थियो।
बुधबार भने सुनको मूल्यमा थप ठूलो गिरावट आएको छ। महासंघले आज एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँ घटाएर २ लाख ६० हजार ९०० रुपैयाँ कायम गरेको छ।
यसरी तिहारअघि र पछिको मूल्य तुलना गर्दा पाँच दिनको कारोबार अवधिमा सुन प्रतितोला २३ हजार ४०० रुपैयाँ सस्तो भएको छ। पछिल्लो गिरावटले सुन बजारमा मूल्यको उतारचढाव थप तीव्र बनेको देखाएको छ।