काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी नागरिकका गुनासा सम्बोधन गर्दै सबै नागरिकको पहुँचमा पुग्ने गरी कार्यक्रम सुधार गर्नुपर्ने बताएकी छन्। उनले उपचार आवश्यक पर्दा स्वास्थ्य बीमाबाट सहजै सेवा पाइने सुनिश्चितता गर्नुपर्नेमा जोड दिएकी छन्।
मंगलबार सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आयोजित छलफलमा मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै नागरिकमा उपचारको आर्थिक भार पर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन्।
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्ने र एकीकृत सामाजिक सुरक्षा प्रणाली विकास गर्ने उद्देश्यले बैठक आयोजना गरिएको थियो।
बैठकमा मन्त्री गौतमले घरपरिवारमा कोही बिरामी पर्दा उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता हुन नहुने बताइन्। उनले प्रत्येक नागरिकले आफूलाई आवश्यक पर्दा स्वास्थ्य बीमामार्फत उपचार पाउनेमा विश्वस्त हुन सक्ने वातावरण बनाउनुपर्ने धारणा राखिन्।
‘घरमा कोही बिरामी पर्दा परिवारको पहिलो चिन्ता उपचारको पैसा कहाँबाट जुटाउने भन्ने हुनु हुँदैन। हरेक नागरिकले मसँग स्वास्थ्य बीमा छ, मलाई चाहिएको बेला उपचार पाउँछु भनेर ढुक्क हुन सक्नुपर्छ,’ उनले भनिन्।
स्वास्थ्य बीमामा योगदान गर्न आर्थिक रूपमा असमर्थ नागरिकको दायित्व राज्यले लिनुपर्ने पनि मन्त्री गौतमको भनाइ थियो। नागरिकका गुनासा सुनेर त्यसअनुसार सुधारका कार्यक्रम अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले अस्पतालमा पुग्दा बीमामार्फत सहजै उपचार पाउने व्यवस्था नै सुधारको प्राथमिकता हुनुपर्ने बताइन्।
बैठकमा स्वास्थ्य बीमामार्फत सेवा प्रवाह गर्न सरकारी अस्पतालको सञ्जाल पर्याप्त छ वा निजी अस्पताललाई समेत कार्यक्रममा सहभागी गराउनुपर्ने हो भन्ने विषयमा पनि छलफल भएको थियो।
छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, स्वास्थ्य बीमा बोर्ड र प्रधानमन्त्री कार्यालयका प्रतिनिधिहरू सहभागी थिए।
सामाजिक सुरक्षा कोष, सञ्चय कोष र स्वास्थ्य बीमालाई एउटै प्रणालीमा ल्याउने प्रस्ताव
बैठकमा हाल छुट्टाछुट्टै मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान संकलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि पनि छलफल भएको छ।
तीनवटै निकायको कार्यप्रणालीलाई एकीकृत गर्न विद्यमान ऐनहरू संशोधन गरी छुट्टाछुट्टै निकायलाई एउटै प्रणालीमा आबद्ध गर्ने वा एउटै ऐनअन्तर्गत फरक–फरक कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने दुई कानुनी विकल्प प्रस्तुत भएका थिए।
यी विकल्पमध्ये उपयुक्त कानुनी र संस्थागत संरचना तय गर्दै सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमा प्रणालीलाई व्यवस्थित बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो।
स्वास्थ्य बीमाको वित्तीय दिगोपना, योगदान संकलन, सेवा भुक्तानी र नागरिकको उपचारमा सहज पहुँच सुनिश्चित गर्ने विषयलाई एकीकृत सामाजिक सुरक्षा प्रणाली विकासको महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ।