free website hit counter

आजदेखि खुल्दै है कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ

beemaadmin
२०८३ मंसिर ११, बिहीबार

काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गर्नेछ। उक्त शेयर काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाले खरिद गर्न पाउनेछन्।

Advertisement
Advertisement

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् ९० लाख रुपैयाँ बराबरको ९० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त शेयरमा आवेदन दिन सक्नेछन्।

Advertisement
Advertisement

स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताको सीमा तोकिएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द हुने मिति छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गते तोकिएको छ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि मंसिर २४ गतेसम्म थपिने कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन्। उनीहरूले शेयर खरिद आवेदन फारामबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था छ।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीको वित्तीय प्रक्षेपणअनुसार साधारण लगानी फिर्ता हुने अवधि ४.५० वर्ष र डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ। त्यस्तै, कम्पनीको खुद वर्तमान मूल्य (एनपीभी) १ अर्ब ५९ करोड ९८ लाख ६६ हजार ७५८ रुपैयाँ र आन्तरिक प्रतिफल दर (आईआरआर) २४.२७ प्रतिशत रहेको छ।

सम्बन्धित समाचार