free website hit counter

झापाका ८६ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा

beemaadmin
२०८३ मंसिर १३, शनिबार

झापा । झापा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या ८ लाख ५७ हजार १९९ पुगेको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार यो जिल्लाको कुल जनसङ्ख्याको ८६ प्रतिशत हो।

सरकारले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज र न्यायोचित पहुँच सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमअन्तर्गत पाँच जनासम्म सदस्य रहेको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान गर्दा एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउँदै आएका छन्।

Advertisement
Advertisement

स्वास्थ्य बीमा बोर्डकी जिल्ला प्रमुख लक्ष्मी कँडेलका अनुसार हालसम्म झापाका २ लाख १७ हजार ५२७ परिवार स्वास्थ्य बीमामा समेटिएका छन्। बीमामा ५३ हजार १४२ जना ज्येष्ठ नागरिक, १२८ जना कुष्ठरोग प्रभावित, ७४४ जना एचआईभी सङ्क्रमित, ३ हजार १९१ जना अपाङ्गता भएका व्यक्ति र ५९० जना महिला स्वास्थ्य स्वयंसेविका पनि आबद्ध छन्।

Advertisement
Advertisement

बीमितलाई उपचार सेवा उपलब्ध गराउन जिल्लामा पाँचवटा आँखा अस्पताल, सातवटा रेफरल अस्पताल र १५ वटा प्राथमिक सेवा प्रदायक संस्था गरी कुल २७ वटा स्वास्थ्य संस्था सूचीकृत गरिएको जिल्ला प्रमुख कँडेलले जानकारी दिइन्।

झापाका १५ स्थानीय तहमध्ये दमक नगरपालिकामा स्वास्थ्य बीमामा आबद्ध जनसङ्ख्याको अनुपात सबैभन्दा बढी छ। त्यहाँ कुल जनसङ्ख्याको ११४ प्रतिशत नागरिक बीमामा आबद्ध रहेको तथ्याङ्क छ। दमकमा बसोबास गर्ने भुटानी शरणार्थीसमेत बीमामा समेटिएकाले आबद्धता दर शतप्रतिशतभन्दा बढी देखिएको हो।

त्यस्तै भद्रपुर, गौरादह, हल्दिबारी, कमल र कनकाई नगरपालिकामा स्वास्थ्य बीमामा आबद्ध हुनेको दर ९० प्रतिशतभन्दा बढी छ। जिल्लामा सबैभन्दा कम आबद्धता भने झापा गाउँपालिकामा देखिएको छ। त्यहाँ कुल जनसङ्ख्याको ४८ प्रतिशत नागरिक मात्र स्वास्थ्य बीमामा समेटिएका छन्।

पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रत्येक थप सदस्यका लागि ७०० रुपैयाँ प्रिमियम बुझाउनुपर्ने व्यवस्था छ। यसरी थप सदस्यसहित बीमा गराउने परिवारले अधिकतम दुई लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्न सक्छन्।

पछिल्लो समय स्वास्थ्य बीमा सेवाको उपयोग र दाबी भुक्तानीमा देखिएका अनियमितता नियन्त्रण गर्न सरकारले सेवा उपयोगसम्बन्धी केही प्रावधान कडा बनाएको छ। नयाँ व्यवस्थाअनुसार बहिरङ्ग (ओपीडी) सेवामा वार्षिक अधिकतम २५ हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाइनेछ। बाँकी रकम अस्पताल भर्ना, आकस्मिक उपचार तथा शल्यक्रियाजस्ता अत्यावश्यक सेवामा उपयोग गर्न सकिने व्यवस्था गरिएको छ।

हाल स्वास्थ्य बीमा कार्यक्रममार्फत एक हजार २९० प्रकारका औषधि उपलब्ध गराइँदै आएको छ। त्यस्तै, मङ्सिर महिनादेखि सेवाग्राहीले भौतिक बीमा कार्ड बोक्नुपर्ने बाध्यता हटाउँदै नागरिक एपमा उपलब्ध डिजिटल कार्ड देखाएरै सूचीकृत अस्पतालबाट उपचार सेवा लिन सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

सम्बन्धित समाचार