नुरराज कँडेल
सरकारले कृषकलाई सुरक्षित गर्ने र बाली तथा पशुपन्छी बीमा व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २० बीमा कम्पनीहरुलाई जिम्मेवारी सुम्पिएको छ । पाँचवटा कम्पनीले ३÷३ जिल्लाको जिम्मेवारी पाएका छन् भने बाँकी १५ वटा कम्पनीले ४/४ जिल्ला हेर्ने जिम्मेवारी पाएका छन् । नेपालमा वि.सं. २०६९ साल माघ १ गतेदेखि कृषि बीमा लागू गरिएको छ र कतिपय कृषकहरूले क्षतिपूर्ति पाई पनि सकेका छन् । बीमा पूर्ण सद्विश्वासको सिद्धान्तमा आधारित हुने हुँदा बीमकलाई स्पष्ट घटनाक्रम जानकारी दिनुपर्दछ । प्राकृतिक वा मौसमी समस्याका कारण किसानले कृषिजन्य क्षेत्रमा गरेको लगानी खेर जाने अवस्थामा जोखिम हस्तान्तरणको सुरक्षित उपाय हो कृषि बीमा । कृषि बीमा गर्दा किसानहरुको लगानीको जोखिम हस्तान्तरण हुन्छ ।
कृषि बीमाका लागि तराईमा न्यूनतम १ कठ्ठा र पहाडमा आधा रोपनी जग्गामा पशुपन्छी पालन तथा खेती गरेको हुनुपर्छ । रोगब्याधी, बाढीपहिरो, चट्याङ, असिना आदिले पु¥याएको क्षति बीमाले बहन गर्छ । बीमित पशुपंक्षी अथवा बाली हराएमा वा चोरी भएको अवस्थामा निर्धारित समयभित्र दाबी नगरी समय सकिएपछि दाबी गरियो भने पनि बीमा पाइँदैन ।
किसानले व्यवसायिक रूपमा गरिएको खेती र पशुपंक्षीहरूको विविध कारणले नोक्सानी भएमा, उत्पादन नभएमा, प्रजनन समस्या भएमा, दैवी विपत्ति भई हुने हानि–नोक्सानीको क्षतिपूर्ति दिइनु कृषि बीमाअन्तर्गत पर्दछन् । यसमा बालीहरू, फलफूल, तरकारी, माछा, बाख्रा, गाई, भैंसी, मौरी, हाँस, अष्ट्रिज, भेंडा, चौँरी आदि व्यवसायिक रूपमा पालिएका प्रायः पर्दछन् ।
कृषि बिमाका लागि छुट्याइएका जिल्ला र कम्पनीहरु
बीमा योग्यहितको सिद्धान्तमा आधारित रहेर बीमितको आर्थिक पक्षअनुकूल हुनुपर्दछ । अर्काेमा, बीमा क्षतिपूर्तिको सिद्धान्तमा चल्दछ । यो भनेको बीमितले जतिको बीमा गरेको हुन्छ, त्यति रकम पाउने होइन, मात्र बीमा गरेको सम्पत्तिको क्षति कति भयो, त्यसैलाई भरथेग गर्ने हो । अर्काे हो, बीमामा प्रत्यासनको सिद्धान्त– यो भनेको यदि बीमितले अन्त कतैबाट क्षतिपूर्ति पाएमा त्यसको हक बीमकलाई पनि हुन्छ ।
यदि बीमकले क्षतिपूर्ति तिरेमा वा दोहोरो प्रकारले क्षतिपूर्ति लिन पाउँदैन किनकि बीमा भनेको जोखिम वहन गर्ने हो, व्यापार होइन । त्यसैले बीमितले दोहोरो फाइदा उठाउन पाउँदैन । यदि बीमितले एकभन्दा बढी ठाउँमा बीमा गरेमा सबै बीमा कम्पनी मिले दामासाही रूपमा क्षतिपूर्ति गर्दछन्, जसलाई योगदानको सिद्धान्त भनिन्छ । जब बीमा दाबीयोग्य बन्दछ, तब त्यसको नजिकको कारक तप्त प्रष्ट हुन जरुरी छ । कृषि बीमामा उत्पादनका जोखिमहरू धेरै छन्, जसमा प्रतिकूल मौसम प्रमुख कारण हो । अधिक वर्षा, बाढी, हावाहुरी, सुख्खापन, अधिक ताप, असिना, तुषारो, हिमपात आदि पर्दछन् भने प्राकृतिक स्रोतसँग सम्बन्धित जोखिम अर्काे चुनौती हो, जसमा माटोको गुणस्तरमा स्रोतको कमी हुनु आदि पर्दछन् ।
बाली तथा पशुपंक्षी बीमा
१. बाली बीमा (अन्न, तरकारी आदि) ।
२. पशु बीमा ।
३. पंक्षी बीमा ।
४. माछापालन बीमा ।
५. च्याउ खेती बीमा ।
६. फलफूल खेती बीमा ।
७. मौरीपालन बीमा ।
८. अष्ट्रिज बीमा ।
यसै गरी उपर्युक्त शीर्षकमा बीमा गरिने कृषकहरूको व्यक्तिगत दुर्घटना बीमा पनि समावेश गर्न थालिएको छ । कृषकलाई दुर्घटनाको कारणले कृषि उपजमा बाधा उत्पन्न भएमा यसले आर्थिक सुरक्षा प्रदान गर्दछ । यसरी वि.सं. २०७४।०९।२० सम्मको तथ्याङ्कमा बिक्री गरिएको बीमा लेख र बीमा शुल्कको विवरण यस प्रकार छ–
० तरकारी बीमामा बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० बीमा शुल्क बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० अलैँची बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० अन्न बाली बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० बेसार बाली बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० मौरी बीमा बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० केरा, उखु बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० माछापालन बीमाङ्कको २ प्रतिशत प्रतिबाली ।
० माछा पोखरी बीमाङ्कको १ प्रतिशत प्रतिबाली ।
० स्याउ (मौसमी सूचकाङ्कमा आधारित) बीमाङ्कको ८ प्रतिशत प्रतिबाली ।
० पशु बीमा बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० अष्ट्रिच बीमाङ्कको २ प्रतिशत प्रतिबाली ।
० ब्रोइलर कुुखुरा बीमाङ्कको १.२५ प्रतिशत प्रतिबाली ।
यसरी उल्लेखित बीमा शुल्क रकममा नेपाल सरकारले कृषकलाई अनुदानस्वरूप ७५ प्रतिशत बीमा शुल्क सरकारले तिरिदिन्छ भने २५ प्रतिशत मात्रै कृषक आफैँले बेहोर्नुपर्दछ । यसरी कुनै पशुपंक्षी वा बालीको बीमा गर्दा बीमा शुल्क रू. ५०००।– लाग्ने भएमा नेपाल सरकारको अनुदान रू. ३७५०।– (७५ प्रतिशत) र कृषकले बेहोर्ने रू. १२५०।– (२५ प्रतिशत) पर्दछ ।
जोखिमको प्रकार
पशु बीमाको जोखिम वहन एक वर्षको हुन्छ भने पंक्षी बीमाको सिजन वा एक वर्षको हुन्छ भने बाली बीमाको एक बाली वा एक वर्षको हुन्छ ।
कृषि बीमामा सामान्यतया निम्न जोखिमबाट क्षति भएमा पूर्ति गरिन्छ वा रक्षावरण गर्दछ
१. भूकम्प ।
२. पहिरो–भू–स्खलन ।
३. बाढी, डुवान, खडेरी ।
४. आगलागी, चट्याङ ।
५. कीराहरू तथा रोगबाट भएको हानि–नोक्सानी ।
६. हिउँ, तुषारो, असिना, आँधिबेहरी ।
७. आकस्मिक दुर्घटना जस्ता बाहिरी कारणहरू ।
यसरी उल्लेखित कारणहरूबाट कृषि उपजहरूको क्षति हुन गएमा वा हानि–नोक्सानी भएमा बीमा कम्पनीले बेहोर्दछ ।