यतिबेला शेयर बजार बढ्दो क्रममा देखिएको छ । कारोबार रकमले नयाँ रेकर्ड बनाउने क्रम जारी छ । औषत नै हेर्ने हो भने पनि दैनिक एक अर्ब ५० करोडभन्दा माथिको कारोबार हुनु भनेको सेयर बजारको लागि अहिलेसम्मकै नयाँ कुरा भएको छ । नेप्सेको साताभरको कारोबार हेर्ने हो भने १८४ कम्पनीको एक लाख तीन हजार ५०२ कारोबारबाट ११ अर्ब २० करोड ५४ लाख ६५ हजार रुपियाँ बराबरको दुई करोड ५३ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको नेप्सेको तथ्याङ्कले देखाएको छ । फागुन ८ गते बिहीबार २ अर्ब ७८ करोड ५० लाख रुपियाँको सेयर किनबेच भएर एकैदिन ठूलो कारोबारको नयाँ रेकर्ड नै बनाएको छ । साताभरमा नेप्से परिसूचक ८९.९८ अङ्कको बृद्धि सहित एक हजार ४३४.५७ विन्दुमा उक्लेको छ भने बजार पुँजीकरण बिहीबार १८ खर्ब ३१ अर्ब ८ करोड पुगेको छ ।
कारोबार उच्च हुनुको कारण
सेयर बजारमा यसरी कारोबार रकम बढनुको पछाडिको कारण के होला ? धेरैको चर्चा र चासोको विषय बनेको छ । सरसर्ती हेर्दा विगत ४२–४३ महिनादेखि बजार ओरालो लागेको सन्दर्भमा सेयरमा लगानीको सम्भावना देखेर नै लामो समयका लागि लगानीकर्ता बजारमा प्रवेश गर्ने मौका छोपेको देखिएको छ । छोटो समयका लागि कारोबार गर्नेका लागि पनि सेयर बजारमा कारोबार उच्च भएको मात्र होइन लघुवित्त र बिमा क्षेत्रको सेयरमा राम्रै उछाल आएको सन्दर्भले नाफा बुकिङ्ग गर्नेहरूका भीडका कारण पनि बजारमा कारोबार उच्च हुन स्वभाविक नै देखिन्छ । सेयर बजारमा पैसा आउने क्रम जारी हुनुमा निक्षेपको व्याजदरमा कमी आउनु, बैंक वित्तीय सस्थाहरूले सेयर कर्जालाई प्राथमिकतामा राख्दै सरल रुपमा कर्जा उपलब्ध गराउन थाल्नु, मुलुकको विभिन्न ठाउँको विवादित जग्गाहरू सरकारीकरण हुन थालेको अवस्थाले कुन जग्गा सही हो कुन गलत भन्ने भ्रम पर्ने अवस्थाले घरजग्गा कारोबारमा निकै शिथिलता आउनु पनि प्रमुख हो ।
त्यसैगरी चीनमा देखिएको कोरोना भइरसका कारण नेपाल–चीन व्यापार प्रभावित बनेको छ । त्यसले पनि चीनसँग व्यापार गरिरहेको कतिपय व्यवसायि फुर्सदिलो बनेकोले आफ्नो पुँजी सेयर बजारमा लगाउँदै छोटो समयका केही कमाइ हुन्छ भन्ने आशामा लगानी गर्दै रहेको अवस्था देखिन्छ । लामो समयका लागि लगानी गर्ने लगानीर्ता र ठूलो धनराशी बोकेका म्यचुअफ फण्डहरू त सेयर बजार विज्ञहरूको सल्लाहमा नै लामो समयका लागि लगानी गर्न थालेको पाइएको छ । त्यसैगरी सिमित व्यक्तिहरूको समूहबाट बनेको सामूहिक लगानीको रकम पनि बजारमा भित्रन थालेको छ । धितोपत्र बोर्डले बजार मैत्री नीतिहरू पास गर्नु, नागरिक लगानीकोषलाई पनि सेयर बजारमा सक्रिय गरिनु, अर्थमन्त्री गभर्नर जस्ता सरकारी निकायका पदाधिकारीहरू सेयर बजारप्रति सकारात्मक बन्दै विभिन्न सार्वजनिक फोरमहरूमा अभिव्यक्ति दिनथाल्नु जस्ता कारणले पनि बजारमा सकारात्मक असर परेको र त्यसको फलस्वरुप बजारमा उच्च कारोबार हुन थालेको देखिन्छ । समग्रमा भन्नुपर्दा अन्य क्षेत्रमा लगानीको सम्भावनाहरू न्यून भएको फाइदा सेयर बजारमा परेको अवस्था हो अहिले ।
नेप्सेमा उच्च बृद्धि भने होइन
बजारमा करोबार उच्च भएको तुलनामा नेप्सेमा सूचीकृति सबै समूहको सेयरको मूल्यमा उल्लेख्य सुधार भने आएको देखिदैन । बजार बढेको केही हप्ताको तथ्याङ्कलाई हेर्ने हो भने लघुवित्त र बिमा समूहको सेयरले बाहेक अन्य समूहको सेयरले खासै कमाएको देखिदैन । फन्डामेन्टल बलियो भएको विविध समूहको विशेष सेयरहरूको बजार मूल्य जहाँको त्यहि देखिन्छ । नेपाली सेयर बजारमा वर्चस्व जमाएर बसेको बैंक, विकास बैंक, फाइनान्स समूहको सेयरले अग्रता नलिएसम्म नेप्सेमा उल्लेख्य सुधार भने देख्न सकिदैन । नेप्से एक हजार ४३४ को बिन्दू्र पुग्दा पनि कतिपय समूहको महङ्गोमा खरिद गरेको सेयरको साउ पनि नउठेको नाफाको त कुरै छोडौ भन्ने लगानीकर्ता बजारमा अझै प्रसस्त भेटिन्छन । बजारमा हाल कमाउने भनेको केही समय अघि खरिद गर्दै हाल उच्च कारोबार भएका बखत विक्री गर्न भ्याउने स्मार्ट लगानीकर्ताहरू नै हुन जसले फन्डामेन्टललाई हेर्नेभन्दा पनि कुन समूहको सेयरको पहिलो मूल्य बृध्दि हुन सक्छ भन्ने कुराको परखमा खरो उत्रन सके ।
नफेरिएको सन्दर्भ
अर्थमन्त्री उही, गभर्नर उही, करको दर बढेको, व्यवसायिक सम्भावनाहरू न्यून रहेको, आर्थिक सूचकाङ्कहरू खासै उत्साहित नभएको, र सेयर बजारमा वर्चस्व भएको र आधारभूत विश्लेषणमा राम्रा देखिएको कम्पनीहरूको बजार मूल्य माथि नगएको सन्दर्भमा बढेको कारोबार र बजार दिगो हो, अब बुल टे«न समात्यो भन्ने सोच राखिहाल्नु भनेको चाहिँ केही हतारो हुने देखिन्छ । कमाउनेले कमाइ सके म पछि परे भनेर फन्डामेन्टल नहेरि अरुले भनेको भरमा नै सेयर खरिद गर्नेहरू भने यस्तो अवस्थामा फस्ने भएकोले लगानीकर्ताले अझै चनाखो भएर खरिद विक्री गर्नुपर्ने बेला आएको छ ।
अबको बजार कता ?
बजारमा राम्रो उछाल आउन बैंक वित्तीय सस्थाहरूको नाफमा पनि राम्रो सुधार देखिनु अनिवार्य छ जुन अब चालु आर्थिक बर्षको पहिलो नौ महिनाको प्रतिवेदन पश्चात् मात्र निक्र्यौल हुनेछ । सेयर बजारमा बैक वित्तीय सस्थाहरूको नाफा आर्थिक बर्ष ०७६–७७ को दोस्रो त्रैमासमा खासै बढन नसकेको अवस्थाले पनि यस समूहको सेयरमा खासै बढोत्तरी देख्न नसकिएको भने हो । वाणिज्य बैंकहरूको नाफा वृद्धिदर चार वर्ष यताकै न्युन देखिएको तथ्याङ्कले देखाएको छ । जुन ७.७४ प्रतिशतले मात्र बढेको पाइएको छ । तीब्र शाखासञ्जाल विस्तार बढ्दो खर्च र न्यून निक्षेप र कर्जा विस्तार जस्ता समस्या बैंकहरूले झल्दै आएको सन्दर्भ भए तापनि यो आगामी केही समयका लागि मात्र हो । बढी शाखा विस्तारको अर्थ बढी निक्षेप संकलन, बढी कर्जा लगानी र बढी नाफा पनि हो भन्ने कुरा भुल्नु हुँदैन ।
तसर्थ र्बैक वित्तीय सस्थाहरूको सेयर मूल्यमा उछालसँगै सेयर बजारले नयाँ उचाइतर्फको यात्रा गर्ने कुरामा भने आशा गर्न सकिने प्रसस्त आधारहरू देखिन्छन । सानो पुँजी भएको कारण लघुवित्त र बिमा कम्पनीले मात्र बजारलाई निरन्तर उकालोतर्फ लाने सम्भावना न्यून छ । जलविद्युत अनि होटल समूहको सेयरमा लगानीकर्ताको रुची खासै देखिदैन । त्यसैले आगामी केही समय भने बजारमा समान्य उतार चढावको मात्र सम्भावना देखिए पनि बढोत्तरीको रफ्तार भने बैशाखको दोस्रो साता पश्चात् बैंक वित्तीय सस्थाहरूको प्रतिवेदनपश्चात् मात्र निक्र्यौल हुने देखिन्छ ।