टोकियो । कोरोनाको संक्रमण दिनदिनै भयावह बन्दै जान थालेपछि जापान सरकारले कोरोना भाईरससँग जुध्न २ खर्ब ७० अर्ब जापानी येनको आपतकालिन राहत कोषको घोषणा गरेको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले शनिवार पत्रकार सम्मेलनमा बोल्दै राहत कोषको घोषणा गरेका हुन् । विरलै गरिने पत्रकार सम्मेलनका क्रममा आवेले हागामी दुई साता कोरोना भाईरससँग जुध्न महत्वपूर्ण संक्रमणको समय भएको भन्दै सबैसँग सहयोगको आग्रह समेत गरेका छन् ।
ठूला तथा धेरै मानिस जम्मा हुने कार्यक्रम तत्कालको लागि स्थगित गर्न अनुरोध गर्दै प्रधानमन्त्री आबेले सोमबारबाट विद्यालयहरु बन्द गर्न गरेको आव्हानलाई समेत दोहोर्याएका थिए । कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले सक्दो प्रयास गरिरहेको र यसमा आम नागरिकको सहयोग अत्यावश्यक रहेकोले साथ दिन आबेले अनुरोध गरे ।
घोषणा गरिएको नयाँ राहत बजेटबाट विद्यालय बन्द हुँदा बालबालिका हेरचाहमा घरमै बस्नुपर्ने भएका परिवारलाई समेत आर्थिक सहयोग गरिने भएको छ । आपतकालिन राहतकोषबाट १० दिन भित्रमा सहयोग रकम जारी हुने बताईएको छ । जापानमा शनिवारसम्ममा ९ सय ५३ जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ । संक्रमित मध्ये ७ सय ११ जना योकोहामा तटको डाईमण्ड प्रिन्सेस पानी जहाँजमा रहेकाहरु हुन् ।
यसैगरि सो पानी जहाँजका ४ र अन्य ५ जना समेत गरि ९ जनाले ज्यान गुमाएका छन् । उपचारपछि ४१ जनाले स्वास्थ्यलाभ गरेको र उपचाररत २० जनाको अवस्था चिन्ताजनक रहेको जापानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।