काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेर बैंकको नवौं साधारणसभा आह्वान गरेको छ। बैंकले आगामी चैत १४ गते शुक्रबार आर्मी आफिसर्स क्लब भद्रकालीमा विहान ११ बजे सभा बोलाएको हो। सभामा बैंकले गत आर्थिक वर्षको कमाइबाट २ प्रतिशत बोनस र कर सहित ४.७५ प्रतिशत नगद गरी कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ। यस अनुसार बैंकले १६ करोड ८३ लाख बोनस र ३९ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रताव लैजाने छ। सबै वाणिज्य बैंकहरुले साधारणसभा सम्पन्न गरी शेयरधनीको खातामा लाभांश पठाइसकेको अवस्थामा सेञ्चुरी कमर्सियल बैंकले भने सबैभन्दा ढिला साधारणसभा आह्वान गरेको छ। हाल ८ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको २ प्रतिशत बोनस शेयर वितरणपश्चात पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बैंकले फागुन ३० गतेदेखि शेयरधनीदर्ता किताब बन्द गर्ने भएकाले फागुन २९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश र साधारणसभामा भाग लिन पाउनेछन्।