सारा संसारा नै आतंकित बनाएको कोराना भाइरसको संक्रमणले विश्व अर्थतन्त्रलाई त असर पुर्याएकै छ । सबैजसो देशले आफ्ना सीमानाका र हवाई यातायात बन्द गरेर उच्च सतर्कता अपनाइसकेका छन् । नेपाल सरकारले पनि सतर्कताका प्रयासहरु थालिसकेको छ ।
कोरोनाका कारण अर्थतन्त्र धरासी बन्दा बीमा कम्पनीहरु पनि प्रभावित नहुने त कुरा आउँदैन तर बीमा कम्पनीलाई कोरानाले धरासायी नै बनाउँछ भन्ने चाहिँ पटक्कै होइन । कोरोनाको संक्रमणदर उच्च भए पनि मृत्युदर निकै कम छ । त्यसमा पनि ७० वर्ष माथिका मानिसको मृत्युदर मात्रै उच्च देखिएको अवस्थामा बीमा कम्पनीहरुलाई खासै समस्या नहुने देखिन्छ किनकि ७० वर्षभन्दा माथिका व्यक्तिको जोखिम बहन अपवाद बाहेक बीमा कम्पनीले गर्दैनन् । कोरोनाको मृत्यु दर लगभग २–३ प्रतिशत मात्रै देखिन्छ ।
यस्तो अवस्थामा १ सय जना विमीतमध्ये दुई तीन जनाको मृत्यु हुँदैमा कुनै पनि बीमा कम्पनी डुब्दैन । सबै मृतक बीमित हुन्छ भन्ने पनि छैन । यस्तै भवितव्यको सामना गर्नकै लागि बीमा समितिले महाबिपत्ति जगेडा काेषकाे व्यवस्था गराएको हो । बीमितहरुको स्वास्थ्य उपचारका लागि हुने खर्च पनि राज्यले नै व्यहोर्दै आएको छ । राज्यले न व्यहोरेकै खण्डमा पनि उपचार खर्च खासै धेरै लाग्ने पनि होइन । क्रिटिकल केशको जोखिम बहन गरेका कम्पनीहरुले रोगको सूचि तोकेरै बीमा लेख बिक्री गरेका छन् । जुन रोगको उपचारखर्च निकै महंगो हुन्छ । तर कोराना त्यो सूचिमा नभए पनि त्यसको उपचार खर्च खासै महंगो छैन । जहाँसम्म मृत्युको कुरा छ, जुनसुकै कारणले व्यक्तिको मृत्यु भए पनि दाबी भुक्तानी दिन बाध्य हुनुपर्छ ।
संक्रमण केही समय लम्बियो र अर्थतन्त्र अझै धरायी बन्यो भने त्यतिबेला बीमा व्यवसायको विस्तारमा केही समस्या आउला, बीमा शुल्म बुझाउन केही ढिलाई होला । तर यस्तै कारणले बीमा व्यवसाय धरासायी भने हुँदैन ।
(प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक भण्डारीसँगको कुराकानीमा आधारित)