काठमाडौं । विश्वव्यापी रुपमा कोरोनाको सन्त्रास फैलिरहेको बेला सरकारले कोरोना नियन्त्रण गर्न हरसम्भव प्रयासहरु गरिरहेको छ । अत्यावश्यक बाहेक सबै सेवा आइतबारबाट बन्द गर्ने घोषणा गरेको सरकारले अत्यावश्यक सेवाभित्र के के पर्छन् भन्ने कुरा राजपत्रमा उल्लेख भइसकेको भए पनि सर्वसाधारण नागरिकको जानकारीमा नभएका कारण अन्योल सिर्जना भएको छ । राजपत्रमा पर्यटन, होटल लगायतका विषयलाई पनि अत्यावश्यक सेवामा समेटिएको तर अहिलेको परिस्थिति फरक रहेको हुँदा ती सेवासँग सम्बन्धित पेशा, व्यवसाय र सेवा बन्द भइसकेका कारण यसमा थप प्रष्ट पार्न शनिबार साँझ कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठक बस्ने र त्यसले निर्णय लिनेछ । त्यसका लागि मुख्यसचिवको नेतृत्वमा रहेको कार्यान्वयन समितिले उच्चस्तरीय समितिमा कार्ययोजनासहित प्रस्ताव पेश गर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ गरेको सम्बोधनअनुसार सरकारले चैत ९ गतेदेखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिदिएको छ। देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको हो । राजपत्रमा भएका १९ बाहेकका सबै सेवा ९ गतेदेखि बन्द हुने जानकारी दिए।
राजपत्रमा अत्यावश्यक सेवाअन्तर्गत निम्न कुराहरू राखिएका छन्
– डाँक तार वा टेलिफोन सेवा
– जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा
– हवाइ अड्डा, हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
– हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा
– प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा
– हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा
– सञ्चार सेवा
– आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
– खानेपानीको सञ्चालन तथा वितरण सेवा
– पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा
– पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा
– अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)
– औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा
– फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार (निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा,
– बैंकिंङ सेवा
– बीमा सेवा
– विद्युत सेवा
– दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा।
– मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा