free website hit counter

कहिले ढल्ने हो यो लामो रात ?

beemaadmin
२०७६ चैत्र २०, बिहीबार

अहिले बाताबरण निकै मनमोहक छ | रुखले पालुवा लगाएका छन् | चराहरुको चिरबिरले बसन्त ऋतुलाई रंजन गर्दैछन | स्वच्छ हावा बहिरहेको छ | क्षितिजमा हिमाल मुस्कुराएका छन् | डांडाकाँडाले हरियो पछ्यौरा ओढेका छन् | आकासमा जुनतारा चम्किएका छन् | कतै पनि धुलो, धुँवा तथा कोलाहल छैन | पशुपंक्षी तथा बनस्पतिले आफुलाई सुरक्षित ठानेका छन् |

घरको खाना, आराम तथा धपेडीविहिन जीवनशैलीको कारण मान्छेहरु स्वस्थ छन् | ब्यस्त मान्छेहरु पनि परिवारसंग मिठा पल व्यतित गरिरहेका छन् | अस्पताल, क्लिनिक तथा स्वास्थ्य केन्द्रहरु रित्ता छन् | प्रदुषणको कारण हाम्रा आँखा, छाला तथा श्वासमार्गमा एलर्जी भएको छैन | रुघाखोकी लागेको छैन | सास फेर्न गाह्रो भएको छैन | फोक्सोमा प्रचुर अक्सिजन भरिएको छ | जंक फुड, रेस्टुरेन्ट तथा होटलका कृत्रिम खानाले कसैको पनि पेट बिगारेको छैन | पाचन प्रणाली आफ्नो लयमा फर्किएको छ | कामको तनाब, दिनचर्याको तनाब तथा ट्राफिक जामको तनाब शुन्यप्राय छ |

लाग्छ, सधै जीवन यस्तै थियो | धुलो, धुँवा, हिलो, चर्को आवाज, कोलाहल कहिल्यै थिएन र अब हुने छैन | सहर पहिलोपटक गाउँ भएको छ | हामीसंग भएका सामग्री आफैलाई बढी भएको छ | कुनै कपडा किन्ने रहर छैन | बाहिर खाने इच्छा छैन | कसैलाई भेट्ने चाह छैन |

यतिमात्र हैन अहिले हामीले गते र बार बिर्सेका छौं | ती गते र बार मान्छेले दिएका नाम मात्र हुन् | प्रकृतिले हरेक दिन उस्तै दिएको हुन्छ |

मनमा एक तमासको डर छ | आँखाले नदेखिने कोरोना भाइरसले पृथ्वी ठप्प पारेको छ | आफ्ना हातसंग शंका छ | आफ्ना घरका सामानसंग शंका छ | आफन्तसंग शंका छ | मान्छेसंग भेट्नु नपरे हुन्थ्यो जस्तो लागिरहेको छ |

अत्यास छ, यो भाइरसको तानाशाही सत्ता कति लम्बिने हो ? भान्सा रित्तिएपछि के खाने हो ? औषधि पाइने हो कि हैन ? पानी पिउन कहिलेसम्म पाइने हो ? कथंकदाचित बिरामी भए के गर्ने हो ? बिभिन्न किसिमका भाडा कसरी तिर्ने हो ? कहाँबाट पैसा ल्याएर किस्ता तिर्ने हो ? यो कोरोना शाशन ढल्ने बेलासम्म आफ्नो जागिर रहने हो कि गइसक्ने हो ? एउटा सिटामोल किन्न जाँदा प्रहरीको लाठी खान पर्ने कहिलेसम्म हो ? हिड्दाहिंड्दै बीच बाटोमा रोकिएका पाइला कहिलेदेखि अगाडि बढाउने हो ?

धैर्यताको बिकल्प छैन | नयाँ दिन आउन यो रात ढल्नुको बिकल्प छैन | कति लामो रात हो यो ?

चिन्ताको कुनै अर्थ छैन | जीवनमा जे जे आए, ती स्वीकार्य भए | तीता पल, मिठा पल, सुन्दर पल, कुरूप पल | अब आउने पल पनि स्विकार्नु पर्छ, चुपचाप | सहनु पर्छ, चुपचाप | प्रकृति बदलियो अब स्वीकृति बदलिनु जरुरि छ | शक्ति, बैभव र प्रगतिको परिभाषा बदलियो अब हामीलाई त्यसलाई हृदयंगम गर्नु जरुरि छ | सुरक्षाको परिभाषा बदलियो, सत्रुको परिभाषा बदलियो, मित्रको परिभाषा बदलियो, छनोटको परिभाषा बदलियो …अब हामीले आफुलाई पढ्नु जरुरि छ, को हुँ भनेर चिन्नु जरुरि छ |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार